कञ्चनपुरमा नौ पूर्वसांसद चुनावी मैदानमा

महेन्द्रनगर, १८ कात्तिक (रासस) : आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि कञ्चनपुरमा तत्कालीन संविधानसभा र प्रतिनिधिसभाका नौ जना पूर्वसांसद चुनावी मैदानमा उत्रिएका छन् ।

तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा नेपाली कांग्रेसबाट संविधानसभा सदस्यमा निर्वाचित दुई, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट एक/एक गरी यहाँ चार जना संविधानसभा सदस्यले सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

कांग्रेस नेता एवं तत्कालीन संविधानसभा सदस्य दिवान विष्ट कञ्चनपुर निर्वाचन क्षेत्र नं १ को ‘१’ बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि सत्ता गठबन्धनका उम्मेदवार छन् । संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका नेत्री वीना मगरलाई पराजित गरी संविधानसभा सदस्यमा निर्वाचित भएका विष्ट यस पटक भने पूर्वमन्त्री मगरलाई प्रतिनिधिसभा सदस्यमा सहयोग गरिरहेका छन् ।

त्यसैगरी कांग्रेसका अर्का नेता एवं सविधानसभा सदस्य बहादुरसिंह थापा यहाँको निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा ‘२’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार छन् ।

उक्त निर्वाचन क्षेत्रमै थापा र संविधानसभा सदस्य एवं एमालेका नेता कृपाराम रानाबीच प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा हुँदैछ । एमालेका उम्मेदवार राना दोस्रो संविधानसभामा एमालेबाट समानुपातिक सांसद हुनुहुन्थ्यो ।

त्यसैगरी संविधानसभा सदस्यको पहिलो निर्वाचनमा जितेका माओवादी केन्द्रका नेता टेकेन्द्रप्रसाद भट्ट पनि प्रदेशसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ । सत्ता गठबन्धनको भागबण्डाका क्रममा उहाँ कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ को ‘१’ बाट उम्मेदावर छन् । संविधानसभा निर्वाचनमा भट्टले त्यो बेला कांग्रेसका नेता थापालाई पराजित गरेका थिए । अहिले उहाँको प्रतिस्पर्धा नेकपा (एकीकृत समाजवादी)का नेता एवं सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावल र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश अध्यक्ष धर्मराज जोशीसित छ ।

त्यसैगरी प्रतिनिधिसभा सदस्यका लागि यहाँ सत्ता गठबन्धनका तीन पूर्वमन्त्रीलाई एमालेका दुई पूर्व प्रतिनिधिसभा सदस्य र प्रदेशका पूर्वमन्त्रीले चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । यहाँको निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट माओवादी नेत्री एवं पूर्वमन्त्री मगर अघिल्लो जितलाई निरन्तरता दिने दाउमा छिन् ।

उहाँलाई कांग्रेसको साथ छ, भने एमालेबाट प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्वमन्त्री तारालामा तामाङले चुनौती दिइरहेका छन् । उक्त क्षेत्रको प्रदेशतर्फ संविधानसभा सदस्य दिवान विष्टबाहेक अरु सबै नयाँ अनुहार हुन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नं २ का एमालेबाट पूर्व सांसद नरबहादुर धामीले सत्ता गठबन्धनका उम्मेदवार एवं कांग्रेसका नेता नारायणप्रकाश साउँदलाई चुनौती दिइरहेका छन् । विसं २०७४ को निर्वाचनमा पूर्वमन्त्रीसमेत रहेका उहाँलाई तिनै एमाले नेता धामीले पराजित गरेका थिए ।

उक्त निर्वाचन क्षेत्रमा रहेका प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा संविधानसभा सदस्य बहादुरसिंह थापा, कृपाराम राना र प्रदेशका पूर्वमन्त्री लालबहादुर खड्का चुनावी मैदानमा छन् भने उक्त क्षेत्रको प्रदेश ‘१’मा सत्ता गठबन्धन र एमालेका दुवै उम्मेदवार नयाँ अनुहारका हुुनुहुन्छ । यहाँ गठबन्धनबाट ओमविक्रम भाट र एमालेबाट वचनबहादुर सिंह चुनावी भिडन्तमा छन् ।

त्यसैगरी निर्वाचन चर्चामा केन्द्रमा रहेको कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखक र एमालेका निरुदेवी पालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट समानुपातिक सांसद भएकी पाल प्रत्यक्षतर्फ यहाँ पहिलो पटक निर्वाचन लड्दैछन् भने कांग्रेस नेता लेखक यहाँ २०५६ सालयता चुनावी प्रतिस्पर्धा गर्दै आएका छन् ।

विसं २०७४ को निर्वाचनमा एमालेका नेता डा दीपकप्रकाश भट्टसित झिनो मतअन्तरले पराजित नेता लेखक यस पटक भने जित्ने दाउमा छन् भने एमाले उम्मेदवार पाल पार्टीको जितलाई निरन्तरता दिने रणनीतिमा हुनुहुन्छ । निर्वाचन क्षेत्र नं ३ का प्रदेशसभातर्फ ‘१’ मा सत्ता गठबन्धनबाट संविधानसभा सदस्य टेकेन्द्र भट्ट चुनावी मैदानमा छन् । उहाँलाई सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावल र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश अध्यक्ष धर्मराज जोशीले चुनौती दिइरहेका छन् । निर्वाचन क्षेत्र नं ३ का ‘२’ मा सत्ता गठबन्धनका उम्मेदवार बेलबहादुर राना र एमालेका उम्मेदवार सुरेन्द्र विष्टबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

सत्ता गठबन्धनका राना यसअघिको निर्वाचनमा पराजित भएका थिए, भने विष्टको प्रदेशसभाको पहिलो यात्रा हो । विसं २०७४ को निर्वाचनमा यहाँका प्रतिनिधिसभा र प्रदेशका छवटै क्षेत्रमा पराजय बेहोरेको कांग्रेस यस पटक भने गठबन्धन भएकाले सबैतिर हारको बदला लिने दाउमा छ भने एमाले जितलाई निरन्तरता दिने रणनीतिमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.