संविधानको कार्यान्वयन र विकासको जिम्मा गठबन्धनको : पुष्पा भुसाल

अर्घाखाँची- पूर्वउपसभामुख तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले संविधानको सही कार्यान्वयन गर्दै दिगो विकास गर्ने जिम्मा गठबन्धनको काँधमा आएको बताउनुभएको छ ।

पाँचदलीय गठबन्धन निर्वाचन प्रचारप्रसार समिति अर्घाखाँचीको आयोजनामा आज मालारानी गाउँपालिका–१ को मारङ, २ को अर्घातोष, ३ को खनदह, ४ को खनका विभिन्न टोलमा भएका चुनावी सभालाई सम्बोधन गर्दै लामो सङ्घर्षबाट बनेको संविधान र मुलुकका उपलब्धि खारेज गर्नेलाई जिताए देशले हार्ने उहाँले बताउनुभयो ।

यस्तै वामलोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रदेशसभा (क) का साझा उम्मेदवार सागर केसीले आफूहरुको जीत नै सिङ्गो अर्घाखाँचीको जीत हुने धारणा व्यक्त गर्नुभयो । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यसमेत रहनुभएका उम्मेदवार केसीले दल, गुट, समूह र व्यक्तिगत स्वार्थमा राज्यको ढुकुटी सकिँदा जिल्ला पछाडि परेको आरोप लगाउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता रेवतीप्रसाद भुसाल, डाक्टर रामबहादुर विसी, बालकृष्ण पाण्डे, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज ठाकुरकुमार विक, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर चौहान, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य गोकर्ण थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.