कान्ति राजपथ निर्माण गर्न फरक ढंगले दबाव दिँदै चापागाउँका युवाहरु

ललितपुर- ललितपुरको सात दोबाटोदेखि हेटौँडा जोड्ने कान्ति राजपथ निर्माण शुरु भएको ६६ बर्ष पुरा हुँदा पनि सहज संचालन हुन सकेको छैन ।

राजधानीबाट बाहिरिने प्रमुख सडकको रुपमा निर्माण शुरु भएको भएपनि ललितपुरका तीन वटा वस्तीहरु थेचो, सुनाकोठी र चापागाउँका स्थानीयले बाटो विस्तार गर्न अबरोध खडा गरेपछि यो सडकको निर्माण कार्य अवरुद्द भएको हो ।

यहाँका स्थानीयले राजपथ फराकिलो बनाउँदा उचित मुआब्जा माग गरेका थिए । तर उनीहरुले माग गरे बमोजिम उचित मुआव्जा नपाएपछि सडक निर्माणमा अबरोध खडा भएको स्थानीयहरु बताउँछन । त्यसो त सरकारले उनीहरुलाई दिने मुआब्जा पनि पर्याप्त दिन नसकेको स्थानीय प्रतिनिधिहरु स्वीकार्छन ।

एकातिर सडक निर्माणमा पहरो र पहिरोको निरन्तर सामना गर्नुपर्ने, अर्कोतर्फ स्थानीयको अबरोध कायम हुने हुँदा दशकौंसम्म पनि कान्ति राजपथको हालत खराब छ । हुन त ठाउँ ठाउँमा बाटो स्तरोन्नतिको काम नभएको होइन  तर राजधानीबाट बाहिरिने मुख नै बन्द भएपछि सडकको विस्तारले गति लिन सकेको छैन ।

अहिले प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएर प्रतिनिधि चुनिएपछि यतिखेर ललितपुरका युवाहरु यो सडक निर्माणलाई पहिलो प्राथमिकतामा राख्न शुभकामनासहितको दवाव दिइरहेका छन ।

युवाहरुले जनप्रतिनिधिहरुलाई फरक तरिकाले बधाइ दिँदै राजपथ निर्माणको कार्यलाई सम्पन्न गर्न आग्रह गरेका हुन ।

३ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको ललितपुरको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित नेपाली काँग्रेसका पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणा र क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित मिनकृष्ण महर्जनलाई बधाइ दिन व्यानरसहित पुगेका युवाहरुले सडक विस्तार र निर्माण सम्पन्नको लागि ध्यानाकर्षण गराएका छन ।

बधाइ र शुभकामना दिन पुगेका युवाहरुको मागलाई सम्बोधन गर्ने गरी काम गर्ने प्रतिवद्दता नवनिर्वाचित प्रतिनिधि सभा सदस्य राणा र प्रदेशसभा सदस्य महर्जनले व्यक्त गर्नुभएको छ ।

उहाँहरुले केन्द्रीय सरकारको प्राथमिकतामा यो राजपथ निर्माणको योजना राख्ने आश्वासन दिनुभएको स्थानीय युवा निरञ्जन विष्टले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

अर्का युवा प्रकाश आचार्यले अबको पहिलो प्राथमिकतामा जनप्रतिनिधिहरुले यो राजपथ निर्माण र विस्तारमा ध्यान नदिए स्थानीयको थप दवाव खेप्नुपर्ने बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.