गठबन्धनलाई थप एकताबद्ध बनाएर अघि बढ्ने सत्ता साझेदार दलहरुको प्रतिज्ञा

काठमाडौँ- सत्ता साझेदार दलहरुले वर्तमान गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका छन ।
प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको नतिजा र मुलुकका सामु रहेका चुनौतीहरुको सामना गर्न वर्तमान गठबन्धनको आवश्यकता र औचित्यता झन बलियो भएको प्रष्ट पारेको छ ।
निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटो सहकार्य र सहमतिका आधारमा मिलेर अघि बढ्ने सन्देश दिएको निस्कर्ष सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले निकालेको छ।
बैठकले निर्वाचनका बेला केन्द्रबाट दिएको निर्देशन कतिपय ठाउँमा पालना नभएको र कतिपय ठाउँमा असमझदारी कायम रहेको स्वीकार गरेको छ। आगामी दिनमा यस्ता असमझदारीलाई हटाउने प्रयास गर्ने सम्मको निर्णय पनि बैठकले गरेको छ ।
बैठकले तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै यसले नेपालको लोकतन्त्रलाई बलियो बनाएको निस्कर्ष पनि निकालेको छ। निर्वाचनले देशमा राजनीतिक स्थायित्व कायम भएको र देश अब आर्थिक समृद्धिको बाटोमा अघि बढेको निर्क्यौलसमेत गरेको छ।
सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले निर्वाचनमा मतदाताले गठबन्धनप्रति देखाएको विश्वासलाई कायम राख्दै थप एकतावद्द भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
यसैगरी बैठकले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सबैलाई विज्ञप्तीमार्फत धन्यवाद पनि व्यक्त गरेको छ ।
विज्ञप्तीमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको छ ।।







प्रतिक्रिया राख्नुहोस्