नारायणी नदीमा तटबन्ध निर्माण कार्य शुरु

चितवन- चितवनको नारायणी नदीमा तटबन्धनको काम सुरु भएको छ ।
हिउँद लागेसँगै नारायणी नदीमा तटबन्ध निर्माण गर्ने काम सुरु भएको हो । नारायणी नदी तटबन्धको लागि संघीय सरकार उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयबाट करिब रु ५ अर्ब बजेट विनियोजन भई ४ वटा प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ ।
ठेक्का सम्झौता भएको ४ वटा प्याकेजमा धमाधम काम सुरु भएसँगै यो कामले गति लिएको हो ।
नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर शङ्कर बुढाथोकीका अनुसार रामघाटदेखि शिवघाट हुँदै काभ्रेघाटसम्म करिब ५ किलोमिटर रु १ अर्ब १५ करोडको ठेक्का सम्झौता भएको हो ।
दोस्रो प्याकेज ५ किलोमिटरकै गाजीपुरदेखि हिरापुरसम्म रु ४८ करोडको ठेक्का सम्झौता भएको छ ।
सिसैदेखि बलुवासम्म करिब ५ किलोमिटर रु ३७ करोडमा ठेक्का सम्झौता भएको छ ।
बलुवादेखि गोलाघाटसम्म रु २६ करोडमा ठेक्का सम्झौता भएको छ । पाचौँ प्याकेज नारायणी सिबिचको काम पुलदेखि करिब एक किलोमिटर अगाडि बोलपत्रको काम भई अहिले मूल्याङकनको क्रममा छ ।
यो प्याकेजको लागत अनुमान रु २० करोड रहेको छ ।
नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनीयर शङ्कर बुढाथोकीका अनुसार चार खण्डको सम्झौता भइसकेको छ भने एक खण्ड सम्झौताको चरणमा रहेको छ । असार अघि नारायणी नदीको महानगरतर्फ सिसइदेखि भगडीसम्मको तटबन्धका लागि रु ३८ करोडमा ठेक्का सम्झौता भएको हो ।
त्यसैबेलाको अर्को एक खण्ड गाजीपुरदेखि हीरापुरसम्मको रु ४८ करोडमा ठेक्का सम्झौता भएको छ । तेस्रो रामघाटदेखि काभ्रेघाटसम्मको रु एक अर्ब १५ करोडमा ठेक्का सम्झौता भइसकेको छ । चौँथो खण्ड रु २६ करोडमा ठेक्का सम्झौता भएको छ । यो बालुवादेखि गोलाघाटसम्मको ६ दशमलब ८ किलोमिटर तटबन्धको पनि सम्झौता भई कामको प्रक्रिया सुरु गरिएको छ ।
उहाँका अनुसार एउटा खण्ड बाहेक सबैको कामको प्रक्रिया सुरु भएको हो । सम्झौता भइसकेका तीन खण्ड पाँच किलोमिटर लम्बाइका छन् । गत कात्तिकमा सम्झौता भएको बालुवादेखि गोलाघाटसम्मको ६ दशमलब ८ किलोमिटरमध्ये २.५ किलोमिटर नयाँ तटबन्ध र अन्य मर्मत गर्नुपर्ने छ ।
नारायणी नदी नारायणगढस्थित पुलबाट पूर्वतर्फको सिविच बोलपत्र आह्वान भई मूल्याङ्कनको चरणमा रहेको छ । नारायणी किनारको जङ्गलको क्षेत्र बाहेकका सबै ठाउँमा तटबन्धका लागि ठेक्का लगाइएको हो ।
आर्थिक वर्ष २०६६/६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म रु एक अर्ब ८३ करोड मात्र विनियोजन हुँदा काम प्रभावकारी हुनसकेको थिएन । चितवनतर्फ ३५ किलोमिटर र नवलपरासीतर्फ ५७ किलोमिटर तटबन्ध र स्पर निर्माण गरिने छ ।
चितवनका लागि ९ अर्ब ५५ करोड रुपैँया र नवलपरासीका लागि रु १४ अर्ब ४३ करोड खर्च लाग्ने प्रस्तावित लागत रहेको छ ।
हालसम्म चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ११ किलोमिटर तटबन्ध गरी सकिएको छ । गुरुयोजनाअनुसार नदी तटबन्ध गरिँदै गर्दा एक लाख ९८ हजार छ जना प्रत्यक्षरुपबाट लाभान्वित हुनेछन् ।
चौध हजार १९ हेक्टर जमिन डुबानबाट बच्ने छ भने कम्तीमा ८० हेक्टर जमिन संरक्षण गरी उपयोगमा ल्याउन सकिने आयोजनाका प्रमुख गणेश मरासिनिले बताउनुभयो ।

सोमबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा आयोजनको अनुगमन तथा निरिक्षण गरिएको छ । निरिक्षणका क्रममा मेयर दाहालले तटबन्धनको कार्य प्रगतिको बारे जानकारी लिनु भएको थियो ।
तटबन्धनका लागि अहिले केही स्थानमा बिग बोल्डर (ठुलो चट्टान) झार्ने कार्य भइरहेको छ भने क्याम्पहरु निर्माण पनि भइरहेका छन ।
नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी बुढाथोकीले अहिलेसम्म ३ प्रतिशत काम पुरा भइसकेको जानकारी दिनुभयो ।
अबको केही समयपछि आखाँले देखिने गरी तटबन्धनले आकार लिने उहाँको भनाइ छ ।

अनुगमनपछि पत्रकारहरुलाई प्रतिक्रिया दिनु हुँदै भरतपुर महानगरपालिका प्रमुख दाहालले महानगरपालिका धेरै वटा आयोजना सञ्चालन हुँदै आएपनि नारायणी नदीको तटबन्धनको कामलाई प्राथामिकतामा राखेको उल्लेख गर्नुभयो ।
नारायणी र राप्ती नदीको तटबन्धन गर्न सकेमात्र भरतपुरको दिगो विकास हुने भएकाले यो आयोजनालाई प्राथमिकतामा राखिएको मेयर दाहालको भनाइ थियो ।।






प्रतिक्रिया राख्नुहोस्