बेथानचोक बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १७ पुग्यो, २१ घाइते
काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा हिजो साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।
बस दुर्घटना परेर २१ जना घाइते भएका छन् । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार बसमा ३९ जना यात्रुहरु रहेका थिए । मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य चारको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरुको धुलिखेल र बनेपामा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अध्यक्ष अधिकारीले बताए अनुसार तीव्र गतिमा रहेको बस मोडको भित्तामा ठोक्किएपछि सडकबाट केही तल खसेर दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनाको खबर आए लगत्तै गृहमन्त्री बालकृष्ण खाँणले घाइतेलाई तत्काल उद्धार गरी उपचारको आवश्यक प्रवन्ध मिलाउन गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिनुभएको थियो ।-
प्रतिक्रिया राख्नुहोस्