जुम्लामा ठूली भैली खेल्न सुरु

जुम्ला- जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा ठूली भैली खेल्न सुरु भएको छ । स्थानीय परम्पराअनुसार चलिरहेको संस्कृति बचाउनका लागि जुम्ला सदरमुकाम खलङ्गादेखि गाउँघरमा ठूली भैली खेल्ने चलन छ ।

औँसीको भोलिपल्टदेखि ठूली भैलो खेल्न सुरु भएको चन्दननाथ नगरपालिका–१ का संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताउनुभयो । जुम्ला राज्यका संस्थापक राजा बलिराज शाहीको पालादेखि जिल्लामा भैलो खेल्ने चलनको सुरुआत भएको मानिन्छ ।

बडाहाकिमले भैलेरा र भैलेरीलाई चार–चार पैसा दिने चलन रहेको संस्कृतिसम्बन्धी जानकार आचार्यले जानकारी दिनुभयो ।

चन्दननाथ भैरवनाथ मन्दिरबाट भैलोको प्रसाद लिएपछि अन्य गाउँमा भैलो खेल्ने चलन रहेको यहाँका जानकार बताउँछन् । ठूली भैलो सुरु भएको दिनदेखि गाउँघरमा गएर भैलो खेल्न सुरु भएको तिला गाउँपालिका–१ का स्थानीयवासी कोलबहादुर रावतले बताउनुभयो । हिउँदमा ठूली भैलो खेल्न जाडोले सकस हुने गरेको छ ।

स्थानीयवासी रावतले भन्नुभयो, “हाम्रो संस्कृतिलाई बचाउन स्थानीय सरकारले पनि काम गरेको छ । तिला गाउँपालिका पाँचवटा गाउँमै पुगेर ठूली भैलो खेलेको स्थानीयवासी रावतको भनाइ छ ।” पछिल्लो समयमा आधुनिक परिवेशअनुसार विस्तारै त्यो चलन हराउँदै गएको स्थानीयवासी हिमाल कार्कीले बताउनुभयो ।

ठूली भैलो सुरु भएको दिनदेखि अन्तिम दिनसम्म गाउँमा गएका पाहुनालाई भैलो छोप्ने चलन पनि रहेको छ ।

जिल्लामा स्थानीय परम्पराको मान्यता बोकेको भैलोले सामाजिक सद्भाव कायम गर्न नसकेका कारण यो चलन विलय हुन पुगेको जुम्लाका स्थानीयवासी बताउँछन् ।

केही वर्षदेखि कर्णाली राजमार्गमा समेत भैली खेलेर सवारी साधनका चालकलाई पैसा माग्न गरेका छन् ।

मङ्सिर शुक्ल पूर्णिमाको दिनदेखि जिल्लामा सानो भैलो खेल्न गरेका छन् । स्थानीय कला, संस्कृतिलाई संरक्षणका लागि पालिकाले बजेटसमेत विनियोजित गरिएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.