प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्रीको बधाई सन्देश
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपाल सरकार र नेपाली जनताप्रति आफूको पूर्णसाथ रहने बताउनुभएको छ ।
नवगठित सरकारका प्रधानमन्त्रीलाई एक सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्रीले वर्तमान सरकार पूर्णरुपमा सफल हुने कामना गर्नुभएको छ । प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटका लागि पुग्नुभएका यहाँस्थित चिनियाँ दूतावासका कार्यबहाक राजदूत वाङ सिङले चिनियाँ प्रधानमन्त्रीको सन्देश उपलब्ध गराउनुभएको थियो ।
चिनियाँ प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, “तपाईँको नेतृत्वमा गठन भएको सरकारले नेपालको आर्थिक विकासका सम्बन्धमा गर्ने प्रयासमा चीनले साथ दिनेछ ।”
दुई देशबीच लामो समयदेखि पृथक द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै बधाई सन्देशमा त्यसलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । आज मात्रै यहाँस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश हस्तान्तरण गर्नुभएको थियो ।
प्रधानमन्त्रीलाई श्रीलङ्काका राष्ट्रपतिको बधाई
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलकाका राष्ट्रपति रणिल विक्रमासिङ्गेबीच आज टेलिफोन वार्ता भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्गेले प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा दाहाललाई बधाई दिनुभयो । उहाँहरूबीच दुई देशबीच लामो समयदेखि रहँदै आएको मैत्री सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो ।
टेलिफोन वार्तामा राष्ट्रपति विक्रमासिङ्गेले प्रधानमन्त्री दाहालको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री दाहाललाई विभिन्न देशका सरकार प्रमुख एवं राष्ट्रप्रमुखले वधाई तथा शुभकामना दिँदै सफल कार्यकालको कामना गरिरहनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्