प्रधानमन्त्रीको प्रस्तावको पक्षमा कांग्रेसले मतदान गर्छः सभापति देउवा
काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गर्नुभएअनुसार आफ्नो पार्टीले विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभापति देउवाले प्रधानमन्त्री दाहाल संविधानको रक्षाको पक्षमा उभिनु हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले मुलुकमा विद्यमान चुनौतीको सामाना गर्दै देश र जनताको हितमा काम गर्नुहुनेछ भन्ने विश्वासका साथ तत्कालका लागि उहाँले राख्नुभएको प्रस्तावको पक्षमा कांग्रेसले मतदान गर्ने सभापति देउवाले बताउनुभयो ।
सभापति देउवाले भन्नुभयो, “सरकारलाई सदनकाप्रति र सदनलाई जनताकाप्रति पूर्णरुपले जवाफदेही बनाउनका लागि संसद्मा एक जिम्मेवार र सशक्त विपक्षी दलको उपस्थिति आवश्यक हुन्छ । प्रभावकारी विपक्षीको अभावमा सरकार निरकुङ्श हुन जाने, स्वच्छेचारी नीति कानुन बन्न सक्ने, सत्ता पक्ष आफ्नो कर्तव्यबाट बिमुख हुने, शक्ति पृथकीकरण र सन्तुलन कमजोर हुने सम्भावना रहन्छ ।”
संसद् आफैँ पनि देश र जनताको बृहत्तर हितमा काम गर्न सक्ने जन उत्तरदायी संस्थाका रुपमा नरहन सक्दछ । त्यसकारण आफूहरुले बहुलवाद र बहुदलीयतासहितको प्रतिस्पर्धात्मक संसदीय व्यवस्था रोजेको उहाँले बताउनुभयो ।
सरकारको गठन गर्नु वा सरकार परिवर्तन गर्नु संसद्को एक महत्वपूर्ण काम भएको बताउँदै उहाँले सरकारमाथि निरन्तर नियमित रुपले निगरानी राख्नु, सरकारका सबै कामको अनुगमन गरी उचित मूल्याकङ्न गर्नु, सरकारका गुण र दोष केलाउनु पनि संसद्को कर्तव्य भएको उल्लेख गर्नुभयो ।
देश र जनताका लागि सबै नीति र कानुनको निर्माण पनि संसद्को क्षेत्राधिकार भएको बताउँदै सभापति देउवाले संसद्मा प्रभावकारी प्रतिपक्षको अभावमा सरकार माथिको निगरानी र अनुगमनको पद्धति कमजोर र सरकारको गुण र दोषका विषयमा छलफलको अभाव हुने बताउनुभयो ।-
प्रतिक्रिया राख्नुहोस्