प्रदेशको नामकरण गर्न प्रदेशसभा सदस्यको जोड

मोरङ- प्रदेश १ को दोस्रो प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले नामकरणमा जोड दिनुभएको छ । अघिल्लो कार्यकालमा नामकरण हुन नसक्दा चौतर्फी आलोचना खेप्नु परेको भन्दै उहाँहरुले नामकरणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो ।

नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नामकरणको विषय सरकारको उच्च प्राथमिकतामा भएको बताउनुभयो । सबै दलसँगको सहमतिमा चाँडै साझा नाम राख्ने गरी प्रयास थाल्ने उहाँको भनाइ छ । “अघिल्लो कार्यकालमा प्रदेशको नामकरण गर्न नसक्दा चौतर्फी आलोचना भएको छ”, उहाँले भन्नुभयो, “सबैको साझा सहमतिमा नामकरण गर्नु सरकारको उच्च प्राथमिकता छ ।”

नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता उद्धव थापाले विगतको सरकारले प्रदेशको नाम राख्न नसक्दा विभिन्न आरोप खेप्नुपरेको उल्लेख गर्दै नामकरण गर्न सरकारलाई आफ्नो पार्टीले साथ दिने बताउनुभयो । चाँडै नामकरणका लागि पहल गर्न पनि उहाँले प्रदेश सरकारसित आग्रह गर्नुभयो ।

प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अघिल्लो कार्यकालमा नामकरण हुन नसक्दा चौतर्फी आलोचना भएको बताउनुभयो । प्रदेशसभाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वका समयमै नामकरण टुङ्गो लगाउने आङ्बोले बताउनुभयो ।

यस्तै बिनाविभागीय मन्त्री निर्मला लिम्कूले पहिचानसहितको नामकरण हुनुपर्ने बताउनुभयो । नेकपा (एमाले)का राम रानाले नामकरण प्रदेश सरकारको पहिलो काम भएको बताउनुभयो । अघिल्लो कार्यकालमा सात प्रदेशमध्ये छवटाले नाम पाए पनि प्रदेश १ ले नामकरण गर्न सकेको थिएन ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.