मन्त्रालय भागवण्डामा सहमति जुटाउन सत्ता साझेदार दलहरुको बैठक बस्दै
काठमाडौं- मन्त्रालय भागवण्डामा सहमति जुटाउन सत्ता साझेदार दलहरुको बैठक आज बस्दै छ । प्रतिनिधिसभाबाट विश्वासको मत लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।
यसअघि नै विश्वासको मत लिएपछि मात्रै सरकारलाई पूर्णता दिन सत्ता साझेदार दलहरु सहमत भएका थिए । प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच हिजो छलफल पनि भएको थियो ।
दुई नेताबीच मन्त्रिपरिषद् विस्तारको विषयमा केही गृहकार्य भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आज सत्ता साझेदार दलहरुबीच थप छलफल हुनेछ ।
सत्ता साझेदार दलहरुबीच मन्त्रालयको संख्या र विभाग बाँडफाँटको लागि अनौपचारिक छलफल पनि भइरहेको छ । संविधानको सीमाअनुसार प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद हुने भएकाले साझेदार दलहरुको आकारअनुसार संख्या र विभागीय मन्त्रालय बाँडफाँट गर्ने तयारी छ ।-
प्रतिक्रिया राख्नुहोस्