प्रशासकीय भवन बनाउँदै महालक्ष्मी नगरपालिका

ललितपुर– महालक्ष्मी नगरपालिकाले आफ्नो प्रशासकीय भवन निर्माण गर्ने भएको छ ।

नगरपालिकाको दोस्रो नगरसभाबाट प्रशासकीय भवन निर्माण सम्बन्धी प्रस्ताव सर्वसम्मत पारित भएको नगर प्रमुख हरिगोविन्द श्रेष्ठले जानकारी दिनुभयो । बिहीबार भएको नगरसभामा प्रशासकीय भवन निर्माण सम्बन्धी प्रस्ताव सर्वसम्मत पारित भएको हो ।

नगर प्रमुख श्रेष्ठका अनुसार वडा नम्बर ८ (५ख) कित्ता नम्बर ११५ को २७ रोपनी चार आना गौचरको रुपमा रहेको जग्गामा प्रशासकीय भवन निर्माण हुनेछ ।

साविकका इमाडोल, टिकाथली, सिद्धिपुर, लुभु र लामाटार गाविस मिलेर बनेको महालक्ष्मी नगरपालिका उपत्यकाको सबैभन्दा बढी बसोबास वृद्धि भइरहेको नगर हो । तर, महालक्ष्मी नगरपालिकाको आफ्नै प्रशासकीय भवन भने थिएन ।

नगर प्रमुख श्रेष्ठले गएको चुनावको घोषणापत्रमा प्रशासकीय भवन निर्माणलाई प्राथमिकतामा राख्नुभएको थियो ।

प्रमुख पशासकीय अधिकृत रोशन ज्ञवालीका अनुसार नगर सभाबाट पारित भएसँगै तत्काल डीपीआरको काम अगाडि बढाइनेछ । डीपीआर प्रतिवेदनलगत्तै टेन्डर गरी दुई वर्षभित्रै प्रशासकीय भवन निर्माण पूरा गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ अनुसार स्थानीय तहको भवनका लागि कम्तिमा ८ रोपनी जग्गा आवश्यक पर्दछ । मापदण्ड पूरा भएपछि नेपाल सरकारले नगरपालिकालाई बढीमा ५० प्रतिशतसम्म सशर्त अनुदानको रुपमा स्थानीय तहको संचित कोषमा उपलब्ध गराउनेछ ।

नगर सभामा पहिलो नगर सभाबाट स्वीकृत आर्थिक वर्ष २०७९/८० को बजेट, योजना तथा कार्यक्रम संशोधन सम्बन्धी प्रस्ताव र विनियोजन विधेयक २०७९ (पहिलो संशोधन) माथि छलफल भई सर्वसम्मत पारित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.