बहुमत सदस्य नपुग्दा सभामुख निर्वाचित हुन सकेन

सुदूरपश्चिम प्रदेशसभाको बिहिबार साँझ बसेको बैठकमा ‘प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने दुई छुट्टाछुट्टै प्रस्तावमा बहुमत सदस्य सङ्ख्या नपुग्दा अस्वीकृत भएको छ ।

प्रदेशसभा सदस्य मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका मेघराज खड्काले पेस गर्नुभएको प्रस्तावमा गरिएको मत विभाजन ‘हुन्न’ भन्ने पक्षमा २६ मत पाउँदा ‘हुन्छ’ भन्ने पक्षमा २३ मत परेको थियो । उहाँको समर्थकमा पृथ्वीबहादुर सिंह हुनुहुन्थ्यो ।

यसैगरी प्रदेशसभा सदस्य भीमबहादुर भण्डारीलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेकपा एमालेकी जानकी ऐर बमले राख्नुभएको अर्को प्रस्तावमा भएको मत विभाजनमा ‘हुन्छ’ भन्ने पक्षमा २६ र ‘हुन्न’ भन्ने पक्षमा २३ मत परेको थियो । उहाँको समर्थकमा माओवादी केन्द्रकी गीतादेवी माल हुनुहुन्थ्यो ।

मत विभाजनमा ५० जनाले भाग लिएकामा एक जनाको मत बदर भएको थियो । सभामुखमा निर्वाचित हुनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा मत विभाजनको प्रक्रियाद्वारा सभामुखको निर्वाचन सुरु हुँदा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र सत्तापक्ष एमालेका चक्रबहादुर मल्ल अनुपस्थित रहनुभएको थियो ।

सभामुखको भूमिकामा रहनुभएका शिवराज भट्टले मत विभाजनमा भाग लिनु भएन । सभामुखको भूमिकामा रहनुभएका भट्टले आवश्यक बहुमत सदस्य सङ्ख्या नपुग्दा दुवै प्रस्ताव अस्वीकृत भएको सदनलाई जानकारी गराउनुभयो ।

सभामुखको उम्मेदवारी दर्ता गराउनुभएका भण्डारी नेकपा (माओवादी केन्द्र)का तर्फबाट र अर्का उम्मेदवार रावल नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । भण्डारीका पक्षमा एमाले, माओवादी केन्द्र, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका सदस्य रहेका थिए ।

रावलका पक्षमा कांग्रेस, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सदस्य हुनुहुन्थ्यो । प्रदेशसभामा कांग्रेसका १९, नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका ११, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र सदस्य हुनुहुन्छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.