छ महिनामा ३२ प्रतिशत बजेट खर्च

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको बजेट खर्च ३२ दशमलव १३ प्रतिशत बराबर देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा सरकारले रु पाँच खर्ब ७६ अर्ब ३४ करोड ७६ बराबर खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबर विनियोजन गरेको थियो ।

बजेटको अर्धवार्षिक समीक्षा अवधिमा १४ प्रतिशत बराबर मात्रै पुँजीगत खर्च भएको छ । चालु आवका लागि सरकारले पुँजीगत शीर्षकमा रु तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बराबर बजेट छुट्याएको थियो । पुस मसान्तसम्ममा पुँजीगत खर्च रु ५३ अर्ब ४५ करोड ५२ लाख बराबर खर्च भएको हो ।

चालु शीर्षकमा रु ११ खर्ब ८३ अर्ब २३ करोड ५१ बराबर विनियोजन भएकामा ३८ दशमलव ४६ प्रतिशत अर्थात् रु चार खर्ब ५५ अर्ब १२ करोड ७० लाख खर्च भएको पनि महालेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

त्यस्तै वित्तीय व्यवस्थापनतर्फ रु दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख बराबर विनियोजन भएकामा २९ दशमलव ४४ प्रतिशत अर्थात् रु ६७ अर्ब ७६ करोड ५४ बराबर खर्च भएको छ ।

यही अवधिमा सरकारको राजस्व सङ्कलन वार्षिक लक्ष्यको ३३ दशमलव ९३ प्रतिशत बराबर देखिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले रु १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख बराबर राजस्व उठाउने लक्ष्य राखेको छ । तर छ महिना अवधिमा वार्षिक लक्ष्यको ३३ दशमलव ९३ प्रतिशत अर्थात् रु चार खर्ब ९४ अर्ब ८४ करोड ५८ लाख बराबर खर्च भएको छ । जसमध्ये कर राजस्वतर्फ रु चार खर्ब पाँच अर्ब २६ करोड ९३ लाख र गैरकर राजस्वतर्फ रु ५३ अर्ब ७१ करोड ७५ लाख बराबर सङ्कलन भएको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले रु ५५ अर्ब ४५ करोड ८३ लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको थियो । हालसम्म वार्षिक लक्ष्यको आठ दशमलव ६६ प्रतिशत अर्थात् रु चार अर्ब ८० करोड २० लाख बराबर वैदेशिक अनुदान सरकारले लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.