साझा संयन्त्र बनाएर सडक निर्माणसम्बन्धी समस्या समाधान गरिने

काठमाडौं- काठमाडौँ उपत्यकामा सडक निर्माणसँग सम्बन्धित निकायबीच सडक समस्या समाधानका लागि साझा संयन्त्र बनाएर काम गर्ने गरी सहमति भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपत्यकाका महानगरपालिका, सडकमा संरचना रहने निकायका प्रतिनिधिसहितको अन्तरक्रियात्मक बैठकले कुनै एउटा निकायले मात्रै चाहेर सडकको राम्रो बन्न नसक्ने भन्दै मिलेर अघि बढ्ने गरी छलफल भएको हो ।

विगतमा मन्त्रालय, स्थानीय निकाय र अन्य आयोजनाले छुट्टाछुट्टै सडक निर्माण गर्ने गरेको तर कुनै एक निकायले मात्रै चाहेर सडकको गुणात्मक विकास हुन नसकेको बताइएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले सबै निकायबीच एउटा साझा संयन्त्र बनाएर समन्वयमा नै सडक निर्माण र सुधारको काम हुनुपर्ने बताउनुभयो । सबैले समन्वयमा आआफ्नो काम गर्नुपर्नेमा उहाँको जोड छ । सडकमा स्वामित्व फरकफरक मन्त्रालय वा फरक सरकारको भए पनि कुनै पनि समस्या आउँदा भौतिक पूर्वाधार मन्त्रालयलाई आरोप लाग्ने गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “सडकमा खाल्डाखुल्डी छ भने त्यो आरोप भौतिक मन्त्रालयलाई आउँछ ।” काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले आफूहरु मन्त्रालयसँग समन्वय गरेर काम गर्न तयार रहेको बताउनुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक खरिद ऐन २०६३ लाई संशोधन गर्न आवश्यक रहेको औँल्याउनुभयो । कार्यक्रममा सहभागीले उपप्रधानमन्त्री श्रेष्ठले साझा संयन्त्र, काममा समन्वय र गुणात्मक विकासको अवधारणालाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सो बैठकले सडक निर्माणमा रहेका समस्याको पहिचान गरेर कामलाई गति दिइने र हरेक महिनाको १५ गते पछिको शुक्रबार २ बजे बैठक बस्ने पनि सहमति गरेको छ ।

बैठकमा काठमाडौँ र ललितपुर महानगरपालिकाका प्रमुखहरु, मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, काठमाडौँ उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनासहित सडक निर्माणसँग सम्बन्धित निकाय वा आयोजनाका दुई दर्जनभन्दा बढी प्रतिनिधिको उपस्थिति थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.