समुन्द्रमा हराएपछि २४ दिन ‘केचप’ को सहारामा बाँचेको फ्राँस्वाको दावी

क्यारेबियन टापू राष्ट्र डोमिनिकाका एक व्यक्तिले कोलम्बियाको समुद्र क्षेत्रमा उद्धार गर्नुअघि ‘केचप’ खाएर समुद्रमा हराउँदा २४ दिन बाँचेको बताएका छन् ।

कोलम्बियाली नौसेनाले सार्वजनिक गरेको भिडियोमा ४७ वर्षीय एल्भिस फ्राँस्वाले अङ्ग्रेजी भाषामा बताउनुभएको छ, “मसँग खाना पनि थिएन ।

डुङ्गामा केचपको बोतल, लसुनको धुलो र चाउचाउ थियो । चाउचाउ पहिलो एक दुई दिनमा नै सकियो । त्यसैले समुद्रमा २४ दिनसम्म बाँच्नका लागि मैले केचपलाई पानीमा मिसाएँ र आवश्यकता अनुसार पुर्‍याएर खाएँ ।”

ला ग्वाजिराको उत्तरी विभागमा प्यूर्टो बोलिभरबाट १२० नटिकल माइल उत्तरपश्चिममा फेला पर्दा डुङ्गाको बाहिरी भागमा ‘सहयोग’ को लागि याचना गरि लेखिएको थियो ।

फ्राँस्वाले आफूले अन्य डुङ्गाहरू त्यहाँबाट ओहोर दोहोर गरिरहेको देखेको र आफ्नो डुङ्गामा आगो बालेर सहयोगका लागि सङ्केत गरेको तर तिनीहरूले आफुलाई नदेखेको बताउनुभयो ।
फ्राँस्वाले डुब्नबाट जोगिन डुङ्गामा जम्मा भएको पानीलाई निरन्तर खालि गरिरहनुभएको थियो ।

’अन्तिम दिन, जनवरी १५ तिर, मैले एउटा विमान देखेँ । मसँग एउटा ऐना थियो । म केही सङ्केतहरू पठाइरहेको थिएँ,” उहाँले भन्नुभयो । उहाँले सूर्य प्रकाशलाई परावर्तन गराएर जहाज र नजिकका डुङ्गामा पठाएपछि सहयोगका लागि कोही आएको बताउनुभयो ।

उहाँले थप्नुभयो, “अन्तिममा उहाँहरू (उद्धार गर्ने व्यक्तिहरू) पछि डुङ्गाबाट दुई पटक ओहोरदोहोर गरे, त्यसैले उहाँहरूले मलाई देखेको मैले महसुस गरेँ । उहाँहरूकै कारण आज जीवित भएकोमा म उहाँहरूप्रति कृतज्ञ छु ।”

प्राप्त जानकारी अनुसार विमानका चालक दलले नौसेनालाई उद्धारका लागि सूचना दिएका र त्यसपछि एक व्यापारिक जहाजको मद्दतले फ्रान्कोइसलाई उद्धार गरिएको थियो ।

फ्राँस्वाले थप्नुभयो, “२४ दिन, कुनै जमिन छैन । कुरा गर्ने कोही छैन । के गर्ने थाहा छैन । आफु कहाँ छु थाहा छैन । यो कठोर थियो । घरिघरि मैले आशा गुमाएँ । तर पनि मैले आफ्नो परिवारको बारेमा सोचेर आफुलाई सम्हालिरहेँ ।

नौसेनाले सार्वजनिक गरेको भिडियोमा एक जना चिकित्सकले फ्रान्कोइसको स्वास्थ्य जाँच गरिरहेको देखिन्छ । “यो धेरै कठिन थियो । मलाई थाहा छैन म आज कसरी जीवित छु तर म जीवित छु । र म यसको लागि आभारी छु,” फ्रान्कोइसको भनाइ छ ।

गत वर्षको डिसेम्बरमा नेदरल्यान्ड्स एन्टिल्सको क्यारेबियन टापु सेन्ट मार्टेनमा रहेको एक बन्दरगाहबाट सेलबोट मर्मत गर्ने क्रममा मौसम खराब भएपछि उहाँलाई समुद्रमा बगाएको नौसेनाले जनाएको छ ।

“नेभिगेसनको कुनै ज्ञान नभएकोले उहाँ समुद्रमा हराउनुभएको थियो र विचलित हुनुभएको थियो । डुङ्गा र डुङ्गामा रहेका उपकरणहरू चलाउने उहाँको प्रयास सफल भएन,” विज्ञप्तिमा भनिएको छ ।

फ्राँस्वाले आफ्नो सेल फोनमा कल गर्ने प्रयास गरेपनि टावरले नटिपेपछि निराश बनाएको थियो । सेनाका अनुसार उहाँलाई आफ्नो देश फर्कन समन्वय गर्न सजिलो होस् भनेर अध्यागमन अधिकारीहरूलाई सुम्पिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.