मन्त्रिपरिषद बैठकः आत्मदाह गरेका आचार्यले उठाएका विषयबारे सरकारले छानबिन गर्ने

काठमाडौं- शरीरमा आगो लगाइ आत्मदाह गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिन गर्ने सरकारले निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि आवश्यक कदम चाल्ने निर्णय गरेको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो ।

“आत्मदाह गर्नुभएका प्रेमजीले गम्भीर विषय उठाउनुभएको थियो, उहाँले आफू अन्यायमा परेको विषय पनि उठाउनुभएको थियो”, गृहमन्त्री लामिछानेले भन्नुभयो, “ती विषयमा गृह मन्त्रालयले नै तदारुकताका साथ छानबिन गर्ने र सत्यतथ्य बाहिर आइसकेपछि आवश्यक कदम चाल्ने निर्णय भएको छ ।”

गृहमन्त्रालयले यस विषयमा काम अघि बढाउने उहाँले जानकारी दिनुभयो । छानबिनका लागि समिति गठनको आवश्यकता अहिले नदेखिएको उहाँले स्पष्ट पार्नुभयो । “समिति गठन गर्नुपर्ने आवश्यकता अहिले नै छैन तर आवश्यक परेको खण्डमा समिति गठन गरिनेछ”, उहाँले भन्नुभयो ।

इलामका व्यवसायी आचार्यले मंगलबार दिउँसो नयाँ बानेश्वर सडकमा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । त्यसपछि उनलाई उद्धार गरी र्कीतिपुरस्थित बर्न अस्पतालमा लगिएको र उपचारका क्रममा आज विहान ५ बजे निधन भएको थियो ।

उनले आफ्नो शरीरमा आगो लगाउनु अघि सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेखेर आफूले भोगेका घटना उल्लेख गरेका थिए । अब उनले उठाएका विषयबारे गृहमन्त्रालयले छानबिन गर्नेछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.