मिडियामा पीडित पक्षको आवाज पातलियो : काउन्सिल अध्यक्ष बस्नेत
काठमाडौँ- प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियामा पीडित पक्षको आवाजले कम स्थान पाएको र कतिपयले थप पीडा दिने काम भएकोले त्यसलाई रोक्न सुझाव दिनुभएको छ ।
प्रेस काउन्सिल नेपालमा शुक्रबार भएको अभिमुखीकरणको १८ औँ श्रृङ्खलालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले पीडितलाई थप पीडा दिने गरी समाचार र समाचारजन्य सामग्री दिनु आचारसंहिताको गम्भीर उल्लङ्घन हुने भएकोले काउन्सिलले गर्ने मिडियाको अनुगमन र मूल्याङ्कनमा यसलाई विशेष निगरानी गर्न थालिएको बताउनुभयो ।
विशेष गरी अनलाइन र कतिपय सामाजिक सञ्जालबाट आपत्तिजनक सामग्री आइरहेको र त्यस्ता माध्यमलाई कडा कानुनी कारबाही हुँदै आएको बस्नेतले जानकारी दिनुभयो । ‘पत्रकारिताबाट समाजलाई न्याय हुनुपर्ने हो, हिंसा न्यूनीकरण गर्न सघाउनुपर्ने हो तर कतिपय माध्यमबाट उल्टै हिंसा बढाउने, पारिवारिक कलह बढाउने र समाजलाई भड्काउने कार्य भएका छन् । पीडित पक्षको आवाज पातलिन थालिएको छ’ उहाँले भन्नुभयो, ‘नयाँ सञ्चालनमा आउने सञ्चार माध्यमले यस्ता कुरामा ध्यान दिएर समाचार सम्प्रेषण गरौँ, आचारसंहिता ख्याल गरौँ’ ।
अध्यक्ष बस्नेतले पत्रकारिता क्षेत्रले समाजका समस्या उजागर गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै यस क्षेत्रले समाजलाई दिने न्यायमाथि प्रश्न उठ्न दिन नहुने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले समाजले पत्रकारिता क्षेत्रबाट राखेको अपेक्षा सही ढङ्गले पूरा गर्नु यस क्षेत्रको दायित्व भएको बताउनुभयो ।
प्रेस काउन्सिल नेपालले नयाँ सूचीकरण हुन आउने अनलाइनका सञ्चालक र सम्पादकलाई अभिमुखीकरण कक्षा दिँदै आएको छ । शुक्रबारको कक्षामा काउन्सिलका बोर्ड सदस्य रामप्रसाद दाहालले पत्रकार आचारसंहिता र न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले विभिन्न सञ्चार निर्देशिका र तीनमा भएका व्यवस्थाबारे प्रशिक्षण दिनुभएको थियो ।
काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले सहजीकरण गर्नुभएको कार्यक्रममा सहभागीले उठाएका जिज्ञासामाथि विज्ञद्वय र काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले प्रष्ट पार्नुभएको थियो । शुक्रबारको कक्षामा २७ वटा अनलाइनका सञ्चालक र सम्पादक सहभागी रहेका थिए ।
प्रतिक्रिया राख्नुहोस्