नेपाल टेलिभिजन वार्षिकोत्सव सन्दर्भः आधुनिक ‘सञ्जय’ र ‘चित्रलेखा’हरू

काठमाडौं- परिमाणात्मक परिवर्तनको चरित्र अपेक्षातया मन्द क्रमबद्ध हुन्छ भने गुणात्मक परिवर्तन क्रमहीन र फड्कोको रुपमा सम्पन्न हुन्छन् । यसप्रकारले विकासको प्रक्रिया एक अर्कोबाट भिन्न तर आपसमा घनिष्ठ रुपले सम्बन्धित हुन्छन् । यो तथ्य भौतिक जगत्‌को विकासको सार्वभौम नियम हो । यसै नियमअनुरुप नै सारा विश्व ब्रह्माण्डका अवयवहरु स्वचालित हुन्छन् ।

प्रागैतिहासिककालमा अर्जुनले कृष्णलाई नपत्याएपश्चात् कृष्णले अर्जुनलाई प्रदर्शन गरेको विश्वरुपलाई आधुनिक भौतिक जगतको परिवर्तित स्वरुप टेलिभिजनसँग दाँज्न सकिन्छ । त्यस्तै, महाभारतमा विष्णुबाट दिव्यदृष्टिको वरदान पाएका सञ्जयले धृतराष्ट्रलाई सुनाएको कुरुक्षेत्रको बयान आधुनिककालको समाचारवाचकले वाचन गरेको समाचारभन्दा कम थिएन । त्यसैगरी, वाणासुरकी छोरी उषाको निम्ति कृष्णको नाति अनिरुद्धको चित्र बनाइदिने चित्रलेखासँग भएको चित्र बनाउने यन्त्रले आजको युगमा क्यामरा र क्यामरापर्सनको रुपमा फड्को मारिसकेको छ ।

सन् १८२६ मा जोसेफ नेसिफोर निप्सले आफ्नै घरको बरण्डामा बसेर ८ घण्टा लगाएर खिचेको बगैँचाको तस्बिरले प्रागैतिहासिककालका चित्रलेखाको चित्र खिच्ने प्रकृयालाई निरन्तरता दियो । सन् १८९५ डिसेम्बर २८ मा फ्रान्सेली दाजुभाई अगष्ट लुमियर र लुईस लुमियरले पहिलोपटक प्रदर्शन गरेको मुक चलचित्रले प्रागैतिहासिककालमा कृष्णले देखाएको विश्वरुपलाई आधुनिकता प्रदान गरे ।

माता यशोदाले एकैठाउँमा बसेर आफ्नो पुत्र कृष्णको मुखभित्र ब्रह्माण्ड देखेझैं आजभोलि आम जनसमुदायले आधुनिक विज्ञानका वैज्ञानिक जोन लोगि बेयर्ड्ले २७ जनवरी १९२६ मा आविष्कार गरेको टेलिभिजन सेटमा आफ्नो कोठामा बसेर विश्वभरिको खबर नियाल्न सक्दछन् ।

भौतिक जगत्‌को विकासलाई प्रतिबिम्बित गर्दै मानिसहरूको चेतना, उनीहरूको विचार, सिद्धान्त र दृष्टिकोणहरू पनि बदलिरहेको हुन्छ । यसैक्रममा हुने पुरानोको पतन र नयाँको प्रादुर्भाव अनन्त प्रक्रिया हो । सोही अनुरूप प्रागैतिहासिक विश्वरूप दर्शनले आज टेलिभिजनको स्वरूप लिएको छ । हिजोका सञ्जय आजको समाचारवाचक बनेको छ । हिजोका चित्रलेखा आज फोटो पत्रकार र प्रेस क्यामरापर्सन बनेको छ । यसरी नयाँ र प्रगतिशिलले पुरानोको ठाउँ लिँदै गएको इतिहास देख्न सकिन्छ ।

सन् १९२९ को सेप्टेम्बर ३० तारिखका दिन संसारमा नै पहिलोपटक बीबीसीले टेलिभिजनको प्रसारण थालनी गरेपश्चात् प्राचिन हिन्दूशास्त्रको ‘दिकप्रर्दशनरहस्य’ले फड्को मारेको मान्न सकिन्छ ।

नेपालको सन्दर्भलाई नियाल्दा तत्कालीन राजा वीरेन्द्रले २०३८ सालमा राष्ट्रिय पञ्चायतलाई सम्बोधन गर्ने क्रममा निर्देशन दिएअनुरूप विकासको बढ्दो गतिसँगै जनतालाई अवगत गराउन तत्कालीन समयको आधुनिकतम सञ्चार माध्यम टेलिभिजनको सम्भाव्यता बारे अध्ययन गरी ‘विकासको लगि सञ्चार’ को मूल मन्त्रलाई साकार रूप दिन २०४१ साल माघ १७ गतेका दिन ‘नेपाल टेलिभिजन परियोजना’को स्थापना भएको थियो ।

आमजनसमुदायले टेलिभिजन जस्तो विलासिताको साधन धान्न नसक्ने तत्कालीन अवस्थामा अनेकौं चुनौतीबीच स्थापना भएको मुलुककै अग्रणी प्रसारण संस्था नेपाल टेलिभिजनले आज आफ्नो ३८ औं वसन्त पार गर्दै छ । विश्वमा टेलिभिजन प्रसारण भएको ५ दशकपश्चात् स्थापना भएको नेपाल टेलिभिजनले आफ्नो स्थापनाकालदेखि नै राष्ट्रिय प्रसारण माध्यमको रूपमा आमनेपाली जनसमुदायलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्दै आएको छ ।

विभिन्न स्वतन्त्र सर्वेक्षणको आधारमा सबै भन्दा विश्वासिलो सञ्चार माध्यमको रूपमा आफूलाई स्थापित गराउन सफल नेपाल टेलिभिजनको पाँचैवटा च्यानलहरु सत्यतथ्य सूचना, जानकारी तथा मनोरञ्जन प्रदान गरेर जनतामाझ सद्भाव र एकताको भाव अभिवृद्धि गराई नेपाल सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय लक्ष्यलाई सार्थकता दिने अभियानमा सदैव अगाडि छ ।

तत्कालीन समयमा ‘ल आयो….., ला गयो…….., आयो आयो.. फेरि गयो…….., आयो आयो……..’ भन्दै एन्टिना घुमाएर एउटै कोठामा टोलभरिका मानिसहरु बसेर हेरिने नेपाल टेलिभिजनको प्रसारणलाई समाजिकीकरणको द्योतक पनि मान्न सकिन्छ ।

श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ को दफा ३ (घ) मा ‘श्रमजीवी पत्रकार भन्नाले सञ्चार प्रतिष्ठानमा व्यवस्थापकीय तथा प्रशासकीय अधिकारप्राप्त गरेको व्यक्ति बाहेक सञ्चार सम्बन्धी व्यवसाय वा सेवालाई प्रमुख व्यवसाय अपनाई पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पूर्ण वा आंशिक समय काम गर्ने व्यक्ति सम्झनुपर्छ र सो शब्दले सञ्चार प्रतिष्ठानमा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने प्रधानसम्पादक, सम्पादक, संवाददाता, स्ट्रिञ्जर, समाचारवाचक, कार्यक्रम निर्देशक, अनुवादक, वेभ डिजाइनर, स्तम्भ लेखक, फोटो पत्रकार, प्रेस क्यामेराम्यान, व्यंग्य चित्रकार, कार्यक्रम निर्माता वा सञ्चालक, दृश्य वा भाषा सम्पादक जस्ता पत्रकारिता पेशासँग सम्बधित व्यक्ति समेतलाई जनाउँछ’ भनेर उल्लेख गरिएको छ ।

श्रमजिवी पत्रकारको फराकिलो र व्यापक यस परिभाषाले वेभ डिजाइनर, फोटो पत्रकार, प्रेस क्यामेराम्यान, व्यंग्य चित्रकार, अनुवादक, दृश्य सम्पादक लगायतका व्यक्तिलाई समेत श्रमजीवी पत्रकारको रूपमा व्याख्या गरेको छ ।

यसर्थ प्रागैतिहासिक कालका ‘चित्रलेखा’ वा आधुनिककालका प्राविधिक जनशक्तिलाई समेत श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ को दफा ३(घ) ले श्रमजीवी पत्रकार को दर्जा दिएको छ । त्यसो त एउटा टेलिभिजन कार्यक्रम उत्पादन गरेर प्रसारण गर्दासम्म कम्तिमा पनि बीस जना दक्ष प्राविधिक जनशक्तिहरुले नेपथ्यमा बसेर ठूलो मिहिनेत गरेका हुन्छन्।

छायांकन स्थलसम्म छायांकन टोलीलाई यातायातको साधनमा बोकेर लैजाने चालकदेखि, छायांकन स्थलमा चिया खाजाको व्यवस्था गर्ने सहयोगीहरू, ध्वनी नियन्त्रक, प्रकाश नियन्त्रक, क्यामेरापर्सनलगायतले छायांकन स्थलमा निकै मिहिनेत गरेका हुन्छन् ।

छायांकन सकिएलगत्तै नेपथ्यमा बसेर दृश्य सम्पादकहरुले सम्पादन गरेको कार्यक्रमलाई उचित प्रविधिको प्रयोग गरेर एमसीआर डेस्कका इन्जिनियरहरुले घरघरको टेलिभिजन सेटसम्म सुरक्षित अवतरण गराउनमा उल्लेखनीय भूमिका खेल्दछन् ।

टेलिभिजनको पर्दामा देखिने टेलिभिजन प्रस्तोताहरू टेलिभिजनको सर्वोपरि जस्तो लागेता पनि नेपथ्यमा बसेर काम गर्ने ‘चित्रलेखा’रुपि प्राविधिक जनशक्तिहरुको प्रसारण प्रणालीमा सशक्त भूमिका रहन्छ ।

श्रमजिवी पत्रकारको परिभाषाभित्र समेटिएका समाचार सामग्री संकलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने प्रधानसम्पादक, सम्पादक, संवाददाता, स्ट्रिञ्जर, समाचारवाचक, कार्यक्रम निर्देशक प्रागैतिहासिक कालका सञ्जयका आधुनिक स्वरूपहरू हुन् ।

पर्दामा देखिने सञ्जयहरु आवाजविहीनहरूका आवाज हुन् । दृश्यविहिनहरुका लागि आँखा हुन् । नागरिक सरोकारका विषयवस्तु र सूचनालाई बुलन्द स्वरूप दिने कडी हुन् ।

समाजमा लुकेर बसेका समस्यालाई हल गर्न सम्भावनाको खोजी गर्ने आँखा हुन् । यसर्थ, समान लक्ष्य प्राप्तिका निम्ति सूचना र चेतना जगाउन फरक प्रकृतिको काम र पेसा भएका ‘सञ्जय’ र ‘चित्रलेखा’हरु आमजनताको चेतना चक्षु उजागर गर्न जिम्मेवार र उत्तरदायी बन्नु अत्यावश्यक छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.