गुल्मीमा आठ वर्षदेखि सडक अलपत्र, निर्माण व्यवसायीको चरम लापरवाही

गुल्मी- निर्माण व्यवसायीले कयौं आयोजनाहरु ठेक्का लिने तर समयमै काम नसक्दा नागरिकले सास्ती खेप्दै आएका छन् । गुल्मी जिल्लामा एउटा सडकको छ पटकसम्म निर्माण सम्पन्न गर्ने म्याद थप्दा समेत निर्माण हुन सकेको छैन् । जसले गर्दा नागरिक आक्रोसित हुन थालेका छन् ।

जिल्लाको सदरमुकाम तम्घास–खाम्सेपानी– नयाँगाउ–नादी–सूर्यटारी सडकको बिचमा झण्डै तीन किलो मिटर सडक कालोपत्रे गर्ने कार्य आठ वर्षदेखि अलपत्र हुँदै आएको छ ।

निर्माण व्यवसायीले पटक–पटक ठेक्का सम्पन्न गर्ने म्याद थप्ने तर काम पुरा नगर्दा सडक समयमै निर्माण हुन सकेको छैन् । सडकको २०७१ साल असार ३१ गते साम्झौता भई २०७२ साल चैत्र ३० गते सम्पन्न गर्ने गरी लोहोनी एण्ड ब्रर्दश प्रालि चितवनले सम्झौता गरेको थियो ।

सडकको तम्घासदेखि खाम्सेपानी अन्तरगत सुपाखोलासम्म साढे दुई किलोमिटर सडक कालोपत्रे गर्ने गरि सात करोड १९ लाख ८७ हजार ७० रुपैया लागतमा निर्माणको जिम्मा दिइएको थियो ।

सडकखण्डको साढे दुई किलोमिटर भन्दा बाँकी खण्डमा दुई वर्ष अघि नै कालोपत्रे भएको छ । सदरमुकाम बजारसँग जोडिएको खण्ड वर्षैदेखि अलपत्र हुँदा नागरिक आक्रोसित हुन थालेका छन् ।

आधा बाटो कालोपत्रे हुँदा आधा बाटो अलपत्र भएकोप्रति स्थानीय नागरिकले आउ–जाउ गर्न सास्ती खेप्नु परेको स्थानीय मुमाराम अधिकारी बताउनुभयो । उहाँले पटक–पटक वडाअध्यक्षदेखि नगरप्रमुखसम्म ध्यानकर्षण गराउँदा पनि सडक कालोपत्रे गर्ने कार्य अगाडी नबढेको गुनासो गर्नुभयो ।

हामी स्थानीय जम्मा भएर जनप्रतिनिधिको ध्यानाकर्षण गरायौं अधिकारीले भन्नुभयो, ‘काम हुन्छ हुन्छ काम भनेर हामीलाई भुलाउने काम मात्रै भयो ।’ सडक कालोपत्रे नहुँदा त्यस स्थानका नागरिकले महङ्गो भाडा तिर्नुपर्ने बाध्यता रहेको छ ।

झण्डै दश वर्षसम्म सडक अलपत्र हुँदा निर्माण व्यवसायीलाई काम पुरा गर्न पहल नभएको स्थानीय बुद्धिराम मरासिनीले बताउनु भयो । उहाँले यतिका समयसम्म पनि कालोपत्रे गर्ने जिम्मा लिदा काम गर्न नसक्नु दुखको कुरा भएको बताउनु भयो ।

लामो समयसम्म सडक कालोपत्रे गर्ने कार्य नहुँदा त्यस भेगका नागरिकले गुहार पाएका छैनन् । सडक अलपत्र हुँदा त्यस स्थानका नागरिकहरु वर्खायाममा हिलाम्मै र हिउँदमा धुलाम्मै सडकमा यात्रागर्नुपर्ने बाध्यता रहेको रेसुङ्गा नगरपालिका वडानम्बर–६ की स्थानीय पुष्पा खनालले बताउनु भयो ।

सडक सुरुमा पाल्पा सडक डिभिजन कार्यालय हुँदै, तम्घास–सिमलटारी प्यूठान सडक, सडक पूर्वाधार विकास कार्यालय सिवपुर कपिलवस्तु हुँदै अहिले सडक पूर्वाधार विकास कार्यालय गुल्मीले सडक निर्माण कार्य हेर्दै आएको छ ।

सडकको अहिले भौतिक प्रगति ९० प्रतिशत, वित्तिय प्रगती ७६ प्रतिशत भएको सडक पूर्वाधार विकास कार्यालय गुल्मीले जनाएको छ । सडकको बेस निर्माण र कालो पत्रे काम मात्रै बाँकी रहेको सडक पूर्वधार विकास कार्यालय गुल्मीका सूचना अधिकारी भक्तराज गिरीले बताउनु भयो ।

निर्माण व्यवसायीले अब अन्तिम पटक २०८० साल जेठसम्मको म्याद थप गरेकाले अब तोकिएको समयमा काम सम्पन्न गर्ने गरि सम्पर्कमा आएको गिरीले बताउनु भयो । अब तोकिएको समयमा काम पुरा नगरे फेरि म्याद थप्ने काम नुहने उहाँको भनाई छ ।

यो सडक हुँदै रेसुङ्गा, धुर्कोट, मदाने गाउँपालिकाका नागरिकलाई प्रत्यक्ष लाभाम्भित हुनेछन् । अहिले यो सडकको बिभिन्न खण्ड खण्ड बनाएर काम भइरहेको छ ।

सडकको सुरुको खण्ड तम्घास खाम्सेपानी अन्तरगत सुपा खोलासम्म साढे दुई किलोमिटर कालोपत्रे हुन नसकेको हो । अर्को खण्डको तीन किलोमिटर ३ वर्ष अघि नै कालोपत्रे भएको थियो ।

पटक–पटक निर्माण कार्य सम्पन्न गर्ने मिति थप्ने तर समयमै काम नगर्ने परिपाटीले स्थानीयमा सडक निर्माण गति लिने आशा हराउदै जान थालेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.