सञ्चारमन्त्रीद्वारा एनटिभी कोहलपुर प्रसारण केन्द्रको निरीक्षण
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजन (एनटिभी) कोहलपुर प्रसारण केन्द्रको निरीक्षण गर्नुभएको छ । सो अवसरमा केन्द्रका प्रमुख विजयकुमार वर्माले केन्द्रको प्रगति तथा समस्याबारे उहाँलाई जानकारी गराउनुभएको थियो ।
सोही क्रममा मन्त्री शर्माले कोहलपुरस्थित गोरखापत्र दैनिक पत्रिकाको प्रकाशन गृहको पनि अनुगमन तथा निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोग बढेकाले पाठक, दर्शक र स्रोताले रुचाउने किसिमका सामग्री उत्पादन गरी प्रशारण एवं प्रकाशन गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले नेपालको संविधानमा गरिएको व्यवस्थाबारे लक्षित वर्गलाई जानकारी दिनेजस्ता जनमुखी कार्यक्रम उत्पादन तथा प्रसारण गर्न आग्रह गर्नुभयो ।
सरकारले रेडियो नेपाल र टेलिभिजनलाई संयुक्तरूपमा सञ्चालन गर्ने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । मन्त्री शर्माले सरकारी सञ्चार माध्यमलाई स्थानीय सरकारसँग सहकार्य गर्न निर्देशनसमेत दिनुभयो ।
त्यस अवसरमा नेपाल टेलिभिजनका अध्यक्ष समिरजङ्ग शाहले संस्थालाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि आफूहरू लागिपरेको बताउँदै टेलिभिजनका कार्यक्रम तथा समाचार सामग्रीमा परिमार्जन गरी नयाँ ढङ्गले अघि बढ्ने प्रतिबद्धता गर्नुभयो ।-
प्रतिक्रिया राख्नुहोस्