संघ र प्रदेश राजधानी जोड्ने बेथानचोक सडकखण्डको कालोपत्रे हुँदै
काभ्रे- संघ र प्रदेश राजधानी जोड्ने बेथानचोक सडकखण्डको कालोपत्रे सुरु भएको छ । संघको राजधानी काठमाडौं र प्रदेश राजधानी हेटौंडा सडकखण्डको कालोपत्रे कार्य बुधबारबाट सुरु गरिएको हो ।
गाउँपालिकाको मुसेखोल्सादेखि चलाल गणेश स्थानसम्मको साढे तीन किलोमिटर खण्डको स्तरोन्नतिको लागि कालोपत्रे कार्य गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राणा तिमिल्सना लगायत जनप्रतिनिधिहरुले गर्नुभएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पालिका अध्यक्ष अधिकारीले सडक स्तरोन्नतिपछि गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने तथा स्थानीयस्तरमा उत्पादित सामाग्रीहरूलाई सहज र छिटो रूपमा निर्यात गरेर ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिने बताउनुभयो ।
त्यस्तै गाउँपालिकाका उपाध्यक्ष तारा राणा तिमिल्सानले उक्त सडक स्तरोन्नतीको कार्यले दिगो विकासको लक्षय हासिल गर्न टेवा पुग्ने बताउनुभयो । गाउँपालिकाको आफ्नै श्रोतमा कालोपत्रे कार्य सुरु गरिएको पालिकाको प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, आगामी जेठ २५ भित्र निर्माण सम्पन्न गर्ने गरी श्री जोशी जी र घिसिङ जेभीलाई कालोपत्रे तथा ढलानको ठेक्का दिइएको छ । ५ दशमलव ५ मिटर चौडाइको सडकको १ किलोमिटर १ सय ८५ किलोमिटर दूरी ढलान गरिने तथा २ किलोमिटर ५५० मिटर दूरी कालोपत्रे गरिने उहाँले बताउनुभयो ।
गाउँपालिकाले आगामी ५ वर्षभित्र गाउँका प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे गर्ने तथा प्रत्येक वर्ष कम्तीमा ५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना तयार गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्