चरा हेर्नको लागि उपयुक्त गन्तव्य रेसुङ्गा, थप ५ वटा प्रजातिका चराहरु फेला

गुल्मी- गुल्मी जिल्लाको रेसुङ्गा वन क्षेत्रमा थप ५ प्रजातिका चरा फेला परेका छन् । पंक्षी संरक्षण गुल्मीले जिल्लाको रेसुङ्गा क्षेत्रमा चरा सम्बन्धी अध्ययन गर्दै आएको छ ।

जसअनुसार पछिल्लो पटक गरिएको अध्ययनमा कोटेरो मुनियाँ, तिलहरी चरा, चखेवाचखेवी, चञ्चले सुड्सुडिया, टुइँसी सुगा फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले बताउनु भयो ।

रेसुङ्गा क्षेत्रमा नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये ३५ प्रतिशत रहेको तथ्य फेला परेको छ । रेसुङ्गा क्षेत्रमा मात्र पाइने चराहरुको संख्या २५८ पुगेको छ । यस अघि २५३ प्रजातिका चराहरु फेला परेका थिए । रेसुङ्गा क्षेत्रमा विश्वकै दुर्लभ चराहरु चीर, रणमत्त महाचील, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील, डंगर गिद्ध रहेका छन् ।

रेसुङ्गा धार्मिक, ऐतिहासिक पर्यटकीय क्षेत्रसँगै चरा अवलोकनका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । चरा सम्बन्धी अध्ययन गरिरहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीले तयार गरेको रेसुङ्गा वन संरक्षण क्षेत्रमा पाइने चराहरुको पुस्तक बिमोचन गरेको छ ।

पुस्तकमा त्यस क्षेत्रमा पाइने चराहरु र त्यहाको अबस्थाको बारेमा उल्लेख गरिएको छ । रेसुङ्गा क्षेत्रमा नेपालकै लोपउन्मुख प्रजातीका चराहरु फेला परेता पनि त्यसको संरक्षणमा सबैपक्षको सहयोगको खाचो रहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले बताउनु भयो ।

दुर्लभ चरा भेटिएपनि बासस्थानमा जलवायु परिर्वतन, बिद्युतीकरण, चोरी शिकारी, वन डढेलो, बिजुलीका पोलहरु, बढ्दो रासायनिक पर्दाथको प्रयोग र दूरसंचार आवृत्ति जस्ता चुनौती रहेको छ । रेसुङ्गा वन संरक्षण क्षेत्रको जंगल क्षेत्र ७ हजार ९०३ हेक्टर रहेको छ ।

यी क्षेत्रमा विश्वब्यापी रुपमा लोपोन्मुख गिद्दको बासस्थान रहेको पाइएको छ । नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुर लगायत चराहरु भेटिएको तथ्याङ्कमा उल्लेख रहेको छ ।

रेसुङ्गा धार्मिक, सांस्कृतिक, पर्यावरणीय, जैविक विविधताको भण्डार, जलाधार क्षेत्र, वैज्ञानिक महत्व राख्ने गुल्मीको पहिचान बोकेको स्थान हो ।

वनस्पतिको विविधता

भौगोलिक उचाइगत विविधताले गर्दा यस क्षेत्रमा ६८ प्रजातिका विरुवा, ३४ प्रजातिका झाडी, ४६ प्रजातिका जडिबुटि जन्य वनस्पतिहरु र बिभिन्न प्रकारका वन पाइएको अध्ययनले देखाएको छ ।

रेसुङ्गा क्षेत्रको छल्दी खोला किनारको उपोष्णा पछाडी सालको वन, कटुस चीलाउने मिश्रित वन देखि शुद्द खोटेसल्लाको कोणधारी वन र खसु गुराँस मिश्रित समशितोष्ण चौडापाते वन अबलोकन गर्न सकिन्छ ।

जडिबुटीको विविधता

यस रेसुङ्गा क्षेत्रमा टिमुर, चिराइतो, कालीकाफल, सुनखरी, पाषणभेद, आकाशेबली, खमला, हर्रो, बर्रो, गानेगुर्जो, सुगन्धवाल, र अन्य गैरकाष्ठ वन पैदवारहरु पाइएको छ ।

ठूलो घना जंगल रहेको यस क्षेत्रमा कालो ऐसेलु, मजिठो, सतुवा,नागबेली सहित १ सय ६१ प्रजातिका जडीबुटिहरु रहेको डिभिजन वन कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।

पारिस्थिकीय प्रणाली र बासस्थान विविधता

यस संरक्षित वनक्षेत्र समुद्री सतहदेखि ५ सय ७५ देखि २ हजार ३ सय ४५ मिटर उचाइसम्म फैलिएको छ । प्रशस्त पानी, उर्वरायुक्त माटो साथै जीवजन्तु वनस्पति र जडीबुटीको विभिन्नताले गर्दा यहाँको पारिस्थिकीय प्रणली र बासस्थानमा पनि प्रशस्त विविधता पाइन्छ ।

यहाँ स्थलचर, जलचर, उभयचर आदि सबैका बासस्थान भेटिन्छन् । यो क्षेत्र रतुवा, मृग र चितुवाको राम्रो बासस्थानको रुपमा रहेको छ । यहाँ कालिज प्रशस्तै पाइन्छन् ।

धार्मिक पर्यटन

रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको र आध्यत्मिक महत्व रहेको जनश्रुति छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् ।

धागीथुम, रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै संरक्षित वनक्षेत्र भित्र पर्दछन् । यहाँ बिभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु लाग्ने गर्दछन् ।

रेसुङ्गा संरक्षित वनको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत नौ जिल्लाको दृश्याबलोकन गर्न सकिने भ्यु टावर रहेको छ । यहाँ विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण, होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ ।

जलाधार क्षेत्रहरु

रेसुङ्गा वनक्षेत्र यस आसपासको जल आपूर्तिको प्रमुख स्रोतको रुपमा रहेको छ । यस वनक्षेत्रमा रहेका ३ सय ५० भन्दा वढि खानेपानीको मुहान र कुवाबाट वरिपरिका साबिकका ७ गाबिसका ६२ हजार जनसंख्यालाई पिउने पानी र अन्य प्रयोजनका लागि पानी उपलब्ध भइरहेको छ ।

रेसुङ्गा क्षेत्रको कुल क्षेत्रफल १९ हजार २ सय ८१ दशमलव ३७ हेक्टर रहेको छ । यसको ५० प्रतिशत भाग कृषि क्षेत्र र ४१ प्रतिशत भू–भाग वनक्षेत्रले ढाकेको छ ।

यो क्षेत्रले कालीगण्डकी जलाधार अन्तर्गत बडिगाढ खोला रसो अन्तर्गत तल्लो छल्दी खोला, जोगीखोला, बलिथुम खोला, रटुकुवा खोला उप–जलाधारहरु समेटेको छ । जल आफूर्ति, भू-संरक्षण र पर्यापर्यटनको दृष्टिकोणबाट यस संरक्षित वनक्षेत्रमा पर्यावरणीय सेवाको प्रशस्त सम्भावना रहेको छ ।

यस क्षेत्रमा भएका बिभिन्न पानीका मुहान र कुवाहरुको साथसाथै यहाँको उपजलाधारको संरक्षण गरिनु अत्याबश्यक रहेको छ । यस क्षेत्रको भू–गर्भ र जलचक्रको अध्ययन भएमा थप सम्भावनाहरु निकाल्न सकिन्छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.