जयसिंह धामी बेपत्ता भएको ठाउँ महाकाली नदीमा झोलुङ्गे पुल निर्माण
दार्चुला- तुइन विस्थापन कार्यक्रमअन्तर्गत महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । व्यास गाउँपालिका–४ बर्तीघाट (मलघट्टे) र वडा नम्बर २ मालमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको हो ।
बिहीवार औपचारिक कार्यक्रमका बीच दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, भारत पिथौरागढ जिल्लाका जिल्लाधिकारी रिना जोशी र व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिह धामीले संयुक्त रुपमा सीमा पुलको उद्घाटन गर्नुभयो ।
नागरिकको सहज आवागमन र तुइन विस्थापन कार्यक्रमअन्तर्गत पुल निर्माण गरी संचालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।
यस्तै सीमा पुल निर्माणले नेपाल र भारतबीचको पराम्परादेखिको सम्बन्धलाई मजबुद बनाउनुका साथै स्थानीयलाई आवतजावतका लागि सहजता हुने व्याँस गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले बताउनुभयो ।
वि.सं. २०७८ साउन १५ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको ठाउँ वडा नम्बर २ स्थितको मालघाटमा झोलुंगे पुल बनेको हो ।
पुलको भारततर्फ भारतीय सीमा सुरक्षा बल र नेपालतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा गर्ने छ । मालघाट–गस्कु झोलुङ्गे पुलको सुरक्षा सशस्त्र प्रहरी बल र बर्तीघाट–मलघट्टे पुलको सुरक्षा नेपाल प्रहरीले गर्नेछ । पुल संचालनमा आएसँगै अब स्थानीयहरुको जोखिमपूर्ण तुइन यात्रा हट्दै गएको छ ।
दार्चुलामा महाकाली नदीमाथि नेपाल–भारत जोड्न दश वटा पुल छन् । तुइनमुक्त कार्यक्रमअन्तर्गत पछिल्लो दुई वर्षमा महाकालीमा चार वटा पुल सञ्चालनमा आएका हुन् ।
मालिकार्जुन गाउँपालिका–६ बाँकु र व्याँस गाउँपालिका–६ बडूगाउँमा गत वर्ष पुल सञ्चालनमा आएको थियो । यस्तै महाकाली नगरपालिका–४ खलंगास्थित पुलघाट, दत्तु, व्याँस गाउँपालिकाका सीतापुल, तिग्रम, मालिकार्जुनको जौलजिवी र लेकमको लालीमा झोलुङ्गे पुल सञ्चालनमा रहेको छ ।
यस्तै दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारत, पिथौरागढको मल्ला छारछुम जोड्ने मोटरेवल पुल बन्दैछ ।-
प्रतिक्रिया राख्नुहोस्