सहज तरिकाबाट राहदानी वितरण गर्न काभ्रे प्रशासनले थाल्यो अभियान

काभ्रे- सहज तरिकाबाट राहदानी वितरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेले अभियान सञ्चालन गरेको छ । राहदानी लिनका लागि सेवाग्राहीलाई भएको असुविधालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेले पाँच वटा अभियान सुरु गरेर सहज वातावरणमा सेवा प्रवाह सुरु गरेको छ ।

सेवाग्राहीको सहजताका लागि बिहिबारदेखि राहदानी प्राप्त गर्न आउने सेवाग्राहीहरूका लागि टोकन र टिकट प्रणाली सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार टाइम कार्ड र टोकन एकैपटक वितरण गरेपछि राहदानीका लागि फाराम भरिदिने कार्य पनि कार्यालय आफैंले गरिदिने व्यवस्था मिलाइएको छ ।

कार्यालयले अभियान अन्तर्गत सेवाग्राहीलाई सहजतका लागि अन्यत्र फाराम भर्दा लाग्ने अतिरिक्त शुल्क तथा प्रक्रियामा पनि सहज र सरलीकरण गर्ने प्रावधान मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।

उहाँका अनुसार, सेवाग्राहीले अन्यत्र फारम भर्दा २ सय देखि ५ सय रुपैयाँसम्म राहदानी भर्नेलाई बुझाउँदै आएकोमा अब भने त्यो अनावश्यक खर्च ब्यहोर्नु नपर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा फोटो खिच्ने, राजश्व बुझाउने र अन्य प्रक्रिया झन्झटिलो हुने गरेकोमा अब प्रक्रियालाई सहज र सरल बनाउन जिल्ला प्रशासन कार्यालय काभ्रेले पहिलो पटक टाइम र टोकन एकैपटक वितरण कार्य सुरु गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

सेवामा सरलीकृत गर्ने उद्देश्यले राहदानीबाट सुरु भएको यो प्रक्रिया नागरिकता र राष्ट्रिय परिचयपत्रमा समेत लागू गरिने जनाइएको छ । राहदानीका लागि सेवाग्राहीले नागरिकता, विवाह गरेको अवस्थामा विवाह दर्ता, राष्ट्रिय परिचय पत्र खिचेको कागज तथा पुरानो राहदानी भए त्यसको सक्कलै र हराएको अवस्थामा त्यसको फोटोकपी सहितका कागजात पेश गर्नु पर्नेछ ।

प्रशासन कार्यालयका अनुसार टोकन र टाइम लिएको व्यक्ति घण्टौं लाइनमा बस्नु पर्ने छैन । पहिलो दिन समय नपाएको अवस्थामा प्राप्त गरेको दिन र समयमा आएर आफ्नो कार्य गर्न सक्नेछ । पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयले बिदाको दिनमा समेत कार्य गर्ने गरी योजना बनाएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.