मन्त्रिपरिषद बैठकः पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेण्डरमै समावेश गरिने
काठमाडौं- सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ फिर्ता लिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सदनमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ लाई १० गते बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गर्ने गरी फिर्ता लिइएको जानकारी दिनुभयो ।
यसैगरी मन्त्रिपरिषदको बैठकले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेण्डरमै समावेश गर्ने निर्णय गरेको छ । यसअघि सरकारले दिएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको संचारमन्त्री शर्माले जानकारी दिनुभयो ।
सञ्चारमन्त्री शर्माका अनुसार २०८० सालको क्यालेण्डर छापिइसकेकाले त्यसपछिका वर्षमा दिइने सार्वजनिक बिदा पुनरावलोकनको काम आगामी भदौसम्ममा सक्ने बताउनुभयो । साथै बिदा व्यवस्थित गर्ने निर्णय गरिएको जानकारी पनि मन्त्री शर्माले दिनुभयो ।
यसैगरी, लगानी (इन्भेष्टमेन्ट) कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने विषय तथा सर्त नेपाल राजपत्रमा प्रकाशित गर्न स्वीकृत दिने, मण्डन देउपुर–६, बेथानचोक–२, लिखु–४, रघुगंगा–२, तातोपानी–४, रिब्दीकोट–३, रुरुक्षेत्र–४ र अपिहिमाल–४ गरी आठ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने र बर्डफ्लु रोग नियन्त्रणका क्रममा आर्थिक वर्ष २०७९–७९ मा प्रचालिक कानुन बमोजिम नष्ट गरिएका वस्तुहरूको लागि राहत प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै, सरकारले यही फागुन १५ देखि १८ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ५२ औँ सत्रमा परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिएको छ ।
मोरङ जिल्ला साविक लेटाङ गाविस वडा नम्बर १ को ०४, १६ बिघा सार्वजनिक जग्गा ३० वर्षका लागि प्रहरी चौकी बुधबारे लेटाङलाई प्रयोग गर्न स्वीकृति दिने बैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्