प्रदेश सरकारको दुग्ध पाउडर प्लान्ट अलपत्र
मकवानपुर- बागमती प्रदेश सरकारको गौरवको योजनामा रहेको ‘प्रदेश दुग्ध पाउडर प्लान्ट’ शिलन्यास भएको दुई वर्षसम्म बन्न सकेको छैन । एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने भन्दै ०७७ साल पुस १६ गते बागमती प्रदेशको पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले शिलन्यास गरेको प्रदेश दुग्ध पाउडर प्लान्ट दुई वर्षमा पनि बन्न नसकेको हो ।
बागमतीसहित चारवटा प्रदेशका किसानलाई लक्षित गर्दै हेटौंडामा दूध पाउडर प्लान्ट निर्माण थालिएको थियो । बागमती प्रदेश दुग्ध विकास बोर्डले नियमित रुपमा किसानहरुले व्यहोर्दै आएको मिल्क होलिडे सहित दूध बिक्रीमा भोग्दै आएको समस्यालाई समाधान गर्न हेटौंडामा पाउडर प्लान्ट निर्माणको तयारी थालेको थियो ।
आर्थिक वर्ष २०७७-०७८ को पुष १ गतेदेखि निर्माण सम्झौता गरेको काठमाण्डौं इजी इन्फा प्रालिले १ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम थालेको थालेको पाउडर प्लान्टले हालसम्म पुर्णता पाउन सकेको छैन ।
दुधको उचित मुल्य नपाएर किसानहरु हैरान भैरहदाँ वैकल्पिक उपाय बन्न सक्ने दुग्ध पाउडर प्लान्ट निर्माण कार्यलाई तिव्रता दिन सरकारले पनि चासो देखाएको छैन ।
दैनिक ६० हजार लिटर दूधबाट ५ मेट्रिक टन उत्पादन पाउडर उत्पादन गर्ने लक्ष्य सहित सरकारले निर्माण सुरु गरेको पाउडर प्लान्ट काठमाण्डौं इजी इन्फा प्रालिले १ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी ४१ करोड २२ लाख ७१ हजारमा सम्झौता गरेको थियो ।
दुई पटकसम्म म्याद थपिएको उक्त दुग्ध पाउडर प्लान्ट निर्माण सम्पन्न गर्न प्रदेश दुग्ध विकास बोर्डले वैशाखसम्मको समय दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्