आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालय प्रतिबद्ध हुनुपर्छः प्रधानमन्त्री दाहाल

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वसुलभ मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गरी मुलुकका लागि आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालय प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित राजर्षि जनक विश्वविद्यालयको छैटौँ सभालाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालयले मुलुकको आवश्यकताअनुसार दक्ष जनशक्तिको उत्पादन गरेर मुलुकका विभिन्न क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको खाँचोलाई पूर्ति गर्न सहयोग पु¥याउनुपर्छ भन्नुभयो ।

“मुलुकमा विश्वविद्यालयको सङ्ख्या बढ्दै जानु राम्रो कुरा हो । यसले उच्च शिक्षामा सबैको सहज र सरल पहुँच स्थापित गर्न मद्दत पुग्दछ”, उहाँले भन्नुभयो, “तर विश्वविद्यालयको सङ्ख्यात्मक वृद्धिसँगै शिक्षाको गुणस्तर पनि उच्च बनाइराख्ने कार्य चुनौतीपूर्ण छ ।”

विश्वविद्यालयले आफूलाई गुणस्तरका क्षेत्रमा अब्बल सावित गर्नुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीलाई कोरा सैद्धान्तिक ज्ञानभन्दा पनि जीवनोपयोगी, रोजगारीमूलक तथा समाज र देशलाई रूपान्तरण गर्न सहयोग पुर्‌याउने उच्च शिक्षाको प्रवद्र्धनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

विश्वविद्यालयको विशिष्टता र पहिचानलाई जोगाउँदै अरू विश्वविद्यालयभन्दा फरक र विशिष्ट हुने गरी शैक्षिक तथा प्राज्ञिक कार्यक्रम सञ्चालन गर्न सुझाव दिँदै उहाँले सोहीअनुसार आफ्ना पाठ्यक्रमको निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालन गरी अघि बढ्न आग्रह गर्नुभयो ।

विश्वविद्यालयले स्थापनाको पाँच वर्षको छोटो अवधिमा प्राविधिक विषयका चिकित्सा शिक्षा, व्यवस्थापन र कम्प्युटर प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेकामा प्रधानमन्त्री दाहालले सराहना गर्नुभयो ।

विश्वविद्यालयको आफ्नो जग्गा र भवन नहुँदा पूर्वाधारको अभावमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न असुविधा भएको आफूले पनि महसुस गरेको जनाउँदै उहाँले सरकारले विश्वविद्यालयलाई सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

वर्तमान सरकार नेपालको संविधानले व्यवस्था गरेबमोजिम निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न सङ्घीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको जानकारी दिँदै उहाँले सो ऐनमार्फत शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्बोधन हुन्छ भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.