प्रतिनिधि सभा : विकास निर्माणमा देखिएको बेथितीको अन्त्य गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विकास निर्माणको काममा भइरहेको ढिलाइप्रति सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको छ ।

राजधानीभित्रैको ललितपुरमा पूर्वाधार विकासमा भइरहेको लापर्बाहीबारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउँदै सांसद डा तोसिमा कार्कीले स्थानीयवासी धुलो र हिलोमा बस्नुपरेकामा गुनासो गर्नुभयो ।

सांसद दीपक खड्का र दिलेन्द्रप्रसाद बडूले खाना पकाउने ग्यासको जलनका कारण घाइते हुनुभएका नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । यस्तै, सांसद देवप्रसाद तिमिल्सिनाले पनि सांसद भण्डारीको स्वास्थ्यलाभको कामना र उहाँको माता हरिकला भण्डारीको निधनप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले रौतहटका विभिन्न पुल निर्माणमा भइरहेको ढिलाइप्रति गुनासो गर्दै सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।

सांसद धनराज गुरुङले मुलुकभित्र देखिएको आर्थिक सङ्कट समाधानमा केन्द्रित हुनुपर्ने र भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद नारायणप्रकाश साउदले शून्य समयमा सांसदले उठाउनुभएको समस्याको सुनुवाइ नभएको र सम्बन्धित मन्त्रीले जवाफ नदिएको भन्दै सदनको ध्यानाकर्षण गराउनुभयो ।

सांसद नारायणी शर्माले दाङमा निर्माणाधीन हुलाकी राजमार्ग निर्माणमा देखिएको समस्या समाधान गर्न तथा निर्माणको कामलाई गति दिन आग्रह गर्नुभयो । सांसद प्रकाश ज्वालाले सरकारले लामा लामा लाइन हटाउने योजना अगाडि सारेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको, सुशासन, जवाफदेहिता तथा सिंहदरबार प्रवेशमा सहजता नभएको भन्दै सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रकाशमान सिंहले करोडौँ मूल्य बराबरको पूराना सवारी साधन विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक स्थानमा अलपत्र रहेको भन्दै त्यसको व्यवस्थापनमा जोड दिन आग्रह गर्नुभयो । सांसद डा प्रकाशशरण महतले टोखा छहरे सडकखण्ड निर्माणमा देखिएको व्यवधान तथा ककनी रानीपौवा सडकखण्ड निर्माणमा निर्माण व्यवसायीले लापर्बाही गरेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रतिमा गौतमले काठमाडौँ उपत्यकाभित्रको खानेपानी समस्या समाधान गर्न र मेलम्चीको पानी प्रभावकारीरुपमा वितरण गर्न माग गर्नुभयो । यस्तै, सांसद प्रदिप पौडेलले पनि काठमाडौँ उपत्यकाभित्रको खानेपानी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद प्रदीप यादवले सरकारी वेभसाइट घण्टाँै अवरुद्ध हुँदा सेवाग्राहीले समस्या व्योहोर्नुपरेको भन्दै किन यस्तो भएको हो भनेर प्रश्न गर्नुभयो । शून्य समयमा सांसद वासुदेव घिमिरे, विनिता कठायतलगायतले समसामयिक राजनीतिक तथा विकास निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.