अझै खच्चरले थेग्छ हुम्लाको ढुवानी

बाध्यता र संकटको सेरोफेरोमा व्यवसायी

हुम्ला- देशको एक मात्रै राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको जिल्ला हो हुम्ला । देशका ७६ जिल्लामा सडक सञ्जालको पहुँच पुगिसकेको छ । तर, हुम्ला सडक सञ्जालको पहुँच नपुगेको एक मात्रै दुर्गम जिल्ला हो ।

२०५७ सालबाट सुरु भएको कर्णाली करिडोर सडक २०७९ सालसम्म आइपुग्दा पनि सडक सञ्जालसँग हुम्ला जोडिन सकेको छैन ।

देशका अन्य जिल्लामा गाडीबाट दैनिक उपभोग्य वस्तुको ढुवानी हुने गर्छ । तर, कर्णाली करिडोर खण्डमा दैनिक हजारौँ खच्चरले मात्रै सामानको ढुवानी धानेका छन ।

खच्चरले नै हुम्ली नागरिकलाई सहजता बनाएको छ । दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री खच्चरबाट नै ढुवानी हुँदै आएको छ ।

महिनामा एक लाखसम्म आम्दानी

तीन वर्ष पहिले जुम्लादेखि खच्चर ल्याएर हुम्ला पुगेका जुम्लाका २२ वर्षीय युवा सिंह रावलले खच्चरबाट दैनिक सामान ढुवानी गर्दै आएका छन । रातदिन खच्चरकै पछि दौडने र हुम्लाका गाउँगाउँमा हिंडेर सामान पुर्‍याउनु उनको दैनिकी हो ।

दैनिक मुगु, बाजुराका सडकबाट उपभोग्य वस्तुको ढुवानी गर्दै आएका सिंहले नेपालटिभीअनलाइनसँग भने लामो हिंडाइले गर्दा कहिले खच्चर थाक्छन त कहिले म आफैँ थाक्छु, तै पनि मेरो यात्रा रोकिएको छैन ।

खच्चरबाट सामान ढुवानी गर्दा महिनामा औसत एक लाखसम्म कमाइ हुन्छु उनले भने, दुःख पनि उस्तै हुन्छ खाना बस्न र सुत्नको कुनै ठेगान हुँदैन ।

युवा पुस्ता खच्चर व्यवसायमा

कर्णालीको हुम्ला, जुम्ला र मुगुका बेरोजगार युवा पुस्ता खच्चर व्यवसायमा लागेका छन् । कहिले चार हजार मिटरभन्दा अग्लो चंखेली हिमालको बाटोबाट चिसो हावा खाँदै त कहिले बाजुराको कोल्टी हुँदै गर्मीमा पसिनासँग खेल्दै दैनिक उपभोग्य वस्तुको खच्चरबाट ढुवानी गर्न बाध्य छन युवा ।

कर्णालीका अधिकांश बेरोजगार युवापुस्ता दैनिक खच्चरसँगै दिन बिताउँदै आएका छन् । मुगु–हुम्ला र बाजुरा–हुम्लाका सडकमा दैनिक सयौँको संख्यामा खच्चरले सामान ढुवानी गर्दै आएका छन ।

रोजगारीको स्रोत खच्चर

जुम्ला जिल्ला पातारासी गाउँपालिका(७ पटमाराका दिनेश बुढा उमेरले बल्ल १७ वर्ष पुगे । उनी दिनरात खच्चरकै पछि दौडेर समय बिताउँछन् । कुनै समय बाटो हिँड्नसमेत गाह्रो हुन्छ, ज्यानको नै जोखिम हुन्छ । बुढाले भने कहिले खच्चर बिरामी हुन्छन, त कहिले आफैँ बिरामी हुन्छु ।

 हुम्लाको सल्लीसल्ला खण्डमा खच्चरबाट सामान ढुवानी गर्दै

गाउँमा रोजगारीको कुनै स्रोत नभएपछि दुई वर्षदेखि मुगुको गमगढीदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म दैनिक उपभोग्य वस्तुको खच्चरबाटै ढुवानी गर्दै आएको उहाँले बताउनुभयो ।

घरमा परिवारको संख्या ठूलो भएको र गाउँमा कमाइ केही नहुने भएकाले खच्चरबाट सामान ढुवानी गर्ने कामदारको रूपमा हुम्ला पुगेको बुढाको भनाइ छ । उनले भने, महिनामा खच्चर मालिकले १५ हजार रुपैयाँ दिन्छन्, त्यही पैसाले आफ्नो खर्च र परिवारको खर्च चलाउँदै आएको छु ।

मोटरबाटो पुगेपछि खच्चर व्यवसाय संकटमा

जुम्ला पातारासी गाउँपालिका-७ कै वीरेन्द्र थापाले खच्चर व्यवसाय गरेको आठ वर्ष भयो । सुरुमा सडक सञ्जालसँग नजोडिएको कर्णालीका कालिकोट, जुम्ला, मुगुसम्म दैनिक खच्चरबाटै सामान ढुवानी गर्दै आएका उनले यस व्यवसायबाट राम्रै आम्दानी गरेका थिए । तर, अहिले तीन जिल्लामा मोटरबाटो पुगेपछि खच्चर व्यवसाय विस्थापित भएको उहाँले बताउनुभयो ।

कालिकोट, मुगु र जुम्लामा सडक पुगेपछि सामान गाडीबाट ढुवानी हुन थालेको छ । जसले गर्दा यो व्यवसाय संकटमा पर्ने खतरा छ । उनले भने- अहिले हुम्ला जिल्लातर्फ खच्चरबाट सामान ढुवानी गर्न थालेको छु । खच्चरबाटै मासिक ७० देखि ८० हजार रुपैयाँ आम्दानी हुँदै आएको छ । हुम्ला पनि सडक सञ्जालमा जोडिएपछि खच्चर व्यवसाय संकटमा पर्नेछ ।

मुगु–हुम्ला आवतजावत गर्न आठ दिन

खच्चरबाट मुगु–हुम्ला आवतजावत गर्न आठ दिन लाग्ने गर्छ । चंखेली हुँदै हुम्लाका विभिन्न स्थानमा झन्डै सातदेखि आठसय खच्चरबाट सामान ढुवानी हुँदै आएको छ । मुगु जिल्लाको गमगढीदेखि हुम्ला जिल्लाको सदरमुकाम सिमकोटसम्म सामान ढुवानी गर्न आठ दिन लाग्ने खच्चर व्यावसीहरू बताउँछन ।

के के सामान भित्रिन्छ ?

मुगुको गमगढीदेखि हुम्लाको सातवटै स्थानीय तहमा दैनिक उपभोग्य वस्तुदेखि विकास निमार्णका सामान खच्चरबाट नै ढुवानी हुँदै आएको छ । नुन, तेल, चामल, सिमेन्ट, डिजल, पेट्रोलदेखि विकास निर्माणका आवश्यक सामान दैनिक रूपमा खच्चरबाट नै हुम्ला पुग्ने गरेको छ । यति मात्र नभई निजी घर निर्माणका लागि आवश्यक पर्ने जस्तापातासमेत खच्चरबाट नै ढुवानी हुने गरेको खच्चर व्यवसायी बताउँछन ।

मुगुबाट सिमकोटसम्म प्रतिकेजी ८० देखि ९० रुपैयाँसम्ममा खच्चरबाट सामान ढुवानी हुने गरेको छ । दैनिक ६ हजारदेखि १५ हजार केजीसम्मको सामान खच्चरले नै बोकेर ल्याउने गरेको खच्चर व्यवसायीले जानकारी दिए । मुगुको भट्टेचौरदेखि हुम्लाको खार्पुनाथ गाउँपालिकाको सुनाखाँडासम्म करिब आठ दर्जन होटेलको व्यवसाय पनि खच्चरले नै धानेको छ ।

हुम्लामा मात्रै करिब आठ सय खच्चर

सडकको पहुँच नपुगेको हुम्लामा करिब आठ सयको संख्यामा खच्चर रहेको अनुमान छ । अहिले खच्चरबाट सामान ढुवानी गर्ने व्यवसायीको संख्या पनि धेरै भएकाले सस्तो मूल्यमा सामान ढुवानी गर्नुपर्ने बाध्यता रहेको व्यवसायीको गुनासो छ ।

कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्म सडक सञ्जालको ट्रयाक खुलेपछि जिल्लाका चार गाउँपालिकामा गाडीबाट सामान ढुवानी हुँदै आएको छ । जसले गर्दा उपभोक्तालाई केही राहत महसुस भएको छ । तर, हुम्लाको सदरमुकाम सिमकोटसम्म सडक सञ्जाल नजोडिएकाले यहाँको ढुवानी खच्चरले नै थेग्दै आएको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.