सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता र इन्जिनियर साहविरुद्ध भ्रष्टाचार मुद्दा
सप्तरी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयरसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले नगर प्रमुख जितेन्द्र प्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साह विरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको हो ।
विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको अख्तियारको ठहर छ । साहलाई २०७९ माघ ३ गते आयोगको टोलीले सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो ।
नगर प्रमुख गुप्ता र इन्जिनीयर साह बीचको आपसी योजना तथा मिलोमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम लिइएको थियो ।
नगर प्रमुख गुप्ता र इन्जिनीयर साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो .१, लाख ४० हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफा ३ को उपदफा (१) देहाय खण्ड (घ) बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुन मागदावी लिई बिशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्