नारायणी नदीकिनारलाई आकर्षक पर्यटकीय गन्तव्य बनाईंदै
चितवन: नारायणी नदी किनारलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । नदी किनारस्थित करिब १५ विगहा जमिनमा पर्यटक आकर्षण गर्ने किसिमले संरचनाहरु निर्माण गर्न थालिएको छ ।
बुधबार नदी किनारमा सहरी विकास मन्त्रालयअन्तर्गत आरतीस्थल तथा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयअन्तर्गत नारायणी नदीकिनार संरक्षणको संयुक्तरुपमा भरतपुर महानगरका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्तरुपमा शिलन्यास गर्नुभयो ।
नगरप्रमुख दाहालले नारायणी नदी किनारलाई उत्कृष्ट पर्यटकीय स्थल बनाई विश्वभरबाट पर्यटक आकर्षित गरी पर्यटकीय गतिविधि गर्न सकिने बताउनुभयो ।
भरतपुर महानगरको गुरुयोजनाअनुसार नदी किनारको सौन्दर्यकरणको काम सुरु भएको छ । नारायणीको पुलदेखि नारायणी लिफ्टसम्मको २.५ किमि क्षेत्रमा पर्यटन पूर्वाधारहरु बन्नेछन् ।
सघन शहरी विकास तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले आकर्षक आरती स्थल निर्माण १८ महिनामा पूरा हुने जानकारी दिनुभयो ।
२०७६ को बैशाखदेखि नारायणी नदीकिनारमा साँझ आरती गरिँदै आइएको छ । गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्वाजले नदीकिनार धार्मिक गन्तव्य बन्न लागेकोमा खुशी व्यक्त गर्नुभयो ।
त्यसैगरी नारायणी किनारमै किनारा संरक्षणका लागि ६ सय ४० मिटर दुरीमा संरचनाहरु बन्ने भएका छन् । १५ करोड ९२ लाख लागतमा डाइनामिक कन्स्ट्रक्सन प्रालिले १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी पुस ५ गते सम्झौता गरेको छ ।
नारायणी नदी व्यवस्थापन आयोजनका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनियर शंकर बुढाथोकीका अनुसार ३ सय मिटरको काम सुरु भैसकेको छ । बाँकी काम छिट्टै सुरु हुन्छ ।
करिब एक सय वटा चार पाङ्ग्रे सवारी राख्न मिल्ने गरी पार्किङस्थल पनि बनाइने योजना रहेको छ । नारायणी नदीकिनारमा पूर्वाधार विकासका लागि भरतपुर महानगर, सिँचाई मन्त्रालय, शहरी विकास मन्त्रालय, पर्यटन मन्त्रालयले बजेट विनियोजन गरेका छन् ।
नारायणी नदी व्यवस्थापनका लागि २ अर्ब ४३ करोड ४० लाख बराबरको पाँचवटा प्याकेजमा काम हुनेगरी सम्झौता भएका छन् । नारायणी पुलको माथिल्लो भागदेखि गोलाघाटसम्म नदी तटबन्धनको कामसमेत हुँदैछ ।
प्रतिक्रिया राख्नुहोस्