सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिनुहुँदै

माओवादी केन्द्रको शर्त : पावर शेयरिङमा लिखित सहमति हुनुपर्छ

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिदैं हुनुहुन्छ ।

संवैधानिक व्यवस्था बमोजिम उहाँले विश्वासको मत लिन लाग्नु भएको हो । संविधानको धारा १६८ को उपधारा (२) वा (३) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै विश्वासको मत लिनु पर्ने प्रावधान छ ।

मुख्यमन्त्री शाहले विश्वासको मत लिनका लागि दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो ।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल बहुमत जुटाउन नसकेर पदमुक्त हुनु भएपछि उपधारा (३) बमोजिम ठुलो दलको संसदीय दलका नेताको हैसियतले शाह मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । प्रदेश प्रमुख देवराज जोशीले माघ २६ गते उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो । यद्यपि, यसअघि बहुमत नपुग्ने अवस्थाका कारण मुख्यमन्त्री शाहले विश्वासको मत लिने मिति तय गर्नमा ढिलाइ गर्नु भएको थियो ।

मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट नै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएका शाहले मन्त्रिमण्डल विस्तार गर्नु भएको छैन । विश्वासको मतपछि मन्त्रिपरिषद् सदस्य बढाउने उहाँको तयारी छ । अहिले सरकारमा नेपाली काङ्ग्रेसबाट प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास मन्त्री र नेकपा (एकीकृत समाजवादी) बाट नरेशकुमार शाही आर्थिक मामिला तथा योजना मन्त्री हुनुहुन्छ ।

अब मुख्यमन्त्रीले गठबन्धन दल नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउने प्रयास गरिरहनु भएको छ । तर, गठबन्धन दल नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीले लिखित सहमति भएपछि मात्रै विश्वासको मत दिने अडान राखेका छन् । माओवादी केन्द्रको हिजो बसेको संसदीय दलको बैठकले सरकारको नेतृत्व आलोपालो, मन्त्रालय भागबन्डा, पावर सेयरिङको विषयमा लिखित सहमति हुनु पर्ने अडान राखेको छ । यथास्थितिमा विश्वासको मत दिन नसकिने सो पार्टीले निर्णय गरेको छ । विश्वासको मत अगाडि नै प्याकेजमा लिखित सहमति हुनु पर्ने नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता खगराज भट्टले बताउनुभयो ।

यसै गरी, नागरिक उन्मुक्ति पार्टीले पनि मन्त्रालय भागबन्डामा लिखित सहमति हुनु पर्ने जिकिर गरेको छ । सामाजिक विकास मन्त्रालय, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र दुई वटा संसदीय समितिको सभापति माग गरेको सो पार्टीले लिखित सहमति नभए विश्वासको मत नदिने अडान लिएको छ । यसै गरी, टीकापुर घटनाको मुद्दा फिर्ता र सो घटनाका कैदी बन्दी रिहाइको माग पनि यथावत् रहेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता रामेश्वर चौधरीले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.