प्रसिद्ध अकला मन्दिरको पुनर्निर्माण २ वर्षदेखि अलपत्र

 गोरखा –गोरखाको प्रसिद्ध अकला मन्दिर पुननिर्माणको काममा ढिलाई हुँदा भक्तजनहरु बोका बली दिने कोठामा पूजा गर्न बाध्य भएका छन् ।

गोरखा नगरपालिका १४ स्थित मूल मन्दिर पुनर्निर्माणको काम बिगत दुईबर्षदेखि अघि बढ्न सकेको छैन ।

३० लाख लागतमा पुनर्निर्माण गर्न २०७४ सालमा सिलान्यास गरिएको थियो ।

प्रदेश सरकारको १० लाख र गोरखा नगरपालिकाको २० लाख लागतमा पुनर्निर्माण गरी सिलान्यास भएको निर्माण समितिका अध्यक्ष टोपबहादुर महतले बताउनुभयो ।

तर सयौँ बर्षअघि स्थापना गरिएको मूर्तिलाई नयाँ मन्दिरमा सार्न मिल्दैन भनेर पुरातत्व विभागले रोकेपछि त्यहाँ मन्दिर निर्माणको काम रोकिको उहाँको भनाई छ ।

फेरि २०७६ सालमा सोही मूर्तिलाई भित्र पार्नेगरी मन्दिर निर्माण कार्य आरम्भ भयो । तर प्राविधिकले साँघुरो मन्दिरको डिजाइन गरेकाले त्यो पनि रोकिएको महतले बताउनुभयो ।

अहिले फेरि काठ अभावका कारण बिगत दुईबर्षदेखि काम रोकिएको उहाँको भनाइ छ । हाल मन्दिरको झ्याल, ढोका राख्ने काम पनि सम्पन्न भएको छ । तर मन्दिर साँघुरो भएको तथा काठ अपुग भएको बहानामा काम रोकिएको निर्माण समितिका अध्यक्ष महतले बताउनुभयो ।

मन्दिर पुनर्निर्माण सम्पन्न नहुञ्जेलका लागि हाल मन्दिर बोकाको बली दिने ठाउँमा स्थानान्तरण गरिएको छ । बोकाको बली कुखुराको बली दिने ठाउँमा सारिएको छ । कुखुराको बली पनि बोकाको सँगै दिने गरिएको छ ।

अकला मन्दिरमा ब्रह्मण, जैशी वा क्षेत्री समुदायका पुजारीले पूजा गर्ने गर्छन् । पुजारीको संख्या धेरै भएपछि पालोका विषयमा केही समयअघि विवाद पनि भएको थियो ।

गाह्रो अप्ठ्यारो परेका बेला भाकल गरेर पूजा गर्ने देवीको रुपमा अकला देवीको प्रसिद्धि छ ।

मर्स्याङ्गदी किनारमा अवस्थित अकला मन्दिर दशकौँ अघि हाल रहेको ठाउँमा स्थानान्तरण गरिएको हो । यहाँसम्म पुग्न अहिले पृथ्वीराजमार्गको मर्स्याङ्गदी जलविद्युत आयोजनाको बाँधबाट तरेर मन्दिरसम्म गाडीमा जान सकिने सुविधा छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.