मुस्ताङमा विश्व विद्यालय स्थापना गर्न लागेको भन्ने समाचार भ्रमपूर्ण- मन्त्री शर्मा

काठमाडौं- सरकारले पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको बताएको छ। आज विज्ञप्ति निकाल्दै सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अध्यक्ष ओलीको भनाइप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो।

सरकारका प्रवक्ता शर्माले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ। नेपाल सरकारले यस बारेमा कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौं।’’

प्रवक्ता शर्माले मुस्ताङमा कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा पत्र लेखेको सम्बन्धमा मिडियामा आएका विषयको आवश्यक छानबिन गरेर सत्य र तथ्य सार्वजनिक गर्नेसमेत उल्लेख गर्नुभएको छ। सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीन रुपमा शृङ्खलाबद्ध रुपमा सार्वजनिक हुनु दुःखद् रहेको उहाँको भनाइ छ। उहाँले पराराष्ट्र नीतिमाथि आँच पुर्याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त नहुने पनि उल्लेख गर्नुभएको छ ।

‘‘यस सम्बन्धमा मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएकाले यस सम्बन्धमा के भएको हो सोको अध्ययन र आवश्यक छानबिन गरी सत्य, तथ्य सार्वजनिक गर्ने व्यहोरा जानकारी गराउन चाहन्छौं।

सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीन रूपमा यस्ता विषय श्रृंखलाबद्ध रूपमा सार्वजनिक हुनु दुःखद छ। परराष्ट्र नीतिमाथि आँच पुर्याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन’’, प्रवक्ता शर्माले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ।

परराष्ट्र नीतिमाथि आँच पुर्याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त नभएको विज्ञप्तिमा उल्लेख छ। नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको भन्दै उहाँले भ्रमपूर्ण अभिव्यक्तिबाट भ्रमित नहुन सञ्चारमाध्यम र आम जनसमुदायलाई अपील गर्नुभएको छ।

‘‘मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय हित एवं स्वतन्त्र र सन्तुलित कूटनीतिका पक्षमा नेपाल सरकार दृढतापूर्वक उभिएको छ। नेपाल निरन्तर असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहेको छ। तसर्थ, यस्ता भ्रमपूर्ण अभिव्यक्तिबाट भ्रमित नहुनसमेत सञ्चारमाध्यम र आम जनसमुदायमा हार्दिक अपील गर्दछौं’’, प्रवक्ता शर्माले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा थप भनिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.