डङ्गर प्रजातिका दशवटा गिद्धलाई प्राकृतिक बासस्थानमा छोडियो

नवलपुर- चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन् केन्द्र कसरामा हुर्किएका दुर्लभ प्रजातिका दशवटा डङ्गर गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको छ ।
गत कार्तिक १७ गते चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रबाट प्राकृतिक बासस्थानमा छोडन पुर्वी नवलपरासीको कावासोती—१३ मा रहेको जटायु रेष्टुरेन्टमा ल्याईएका डङ्गर प्रजातीका ती गिद्धलाई प्राकृतिक बासस्थानमा छोडिएको जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष एवं संरक्षणकर्मी डिबि चौधरीले बताउनुभयो ।
गिद्धहरुलाई प्राकृतिक बासस्थानमा छोडनुअघि उनिहरुको स्वास्थ्य परीक्षण समेत गरिएको थियो । जङ्गलमा छाडिएका गिद्धको निगरानी गर्न ढाडमा सेटलाइट ट्याग र खुट्टामा गणनाको लागि सहज हुने नम्बर टयाग लगाएर छाडिएको चौधरीले बताउनुभयो ।
यसरी ट्याग लगाएर छाडिएका गिद्धहरुको दैनिक रुपमा निगरानी गरिने भएकाले उनीहरु उडेर कहाँ पुगे या कति दुरि पार गरेका छन् भन्ने तथ्यांक आउने चौधरी बताउनु हुन्छ ।
चौधरीका अनुसार सन २०१७ देखि २०२३ सम्म निकुञ्जको गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका ६९ गिद्ध र जंगली गिध्द ७० वटा गरेर १३९ वटा गिद्धलाई सेटलाइट ट्याग लगाएर प्राकृतिक बासस्थानमा छाडिएको छ ।
नवलपुरको कावासोती-१३ मा रहेको नमूना सामुदायिक मध्यवर्ती वनको करीब ५० हेक्टर क्षेत्रफलमा फैलिएको जटायु रेष्टुरेन्टमा नेपालमा पाईने नौ प्रजातीका गिद्ध मध्ये आठ प्रजातीका गिद्ध पाइने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
प्रकृतिको कुचिकारको रुपमा रहेका गिद्धहरु गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोग सँगै बासस्थानमा आएका ह्रासका कारण गिद्धहरु लोपोन्मुख अवस्थामा पुगेका चौधरी बताउनु हुन्छ ।
रेष्टुरेन्टले गिद्धको आहाराका लागी गाउँघरबाट बुढाखाडा भएका गाई भैसी ल्याएर पाल्ने गरेको छ । रेष्टुरेन्टको गौशालामा पालिएका गाइवस्तु मरेपछि गिद्धका आहाराका लागी प्रयोग गरिने चौधरीले बताउनुभयो । यस बाहेक जिल्लाभित्र विभिन्न कृषि फर्ममा मरेका गाई भैसी ल्याएर परीक्षण पश्चात आहाराको रुपमा प्रयोग गरिने चौधरीले बताउनु भयो ।
प्रकृति संरक्षणका कार्यमा लगनशील भएर लाग्नुका साथै वन्यजन्तु र मानिसविचको द्धन्द कम गर्नका लागि प्रदेशले एक कार्यक्रम नै ल्याएको प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसिले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्