नेपालले सबै मित्रराष्ट्रको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको छ– सभामुख

काठमाडौं- सभामुख देवराज घिमिरेले नेपालले सबै मित्रराष्ट्रहरूको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको बताउनुभएको छ ।

अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १४६औँ महासभालाई बहराइनको राजधानी मनामामा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो, शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पञ्चशील, नेपालमा जन्मिएका भगवान् गौतम बुद्धको शिक्षामा आधारित छन् ।”

उहाँले नेपालको सङ्घीय संसद् लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक भएको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । सभामुख घिमिरेले संविधानसभाबाट निर्माण भएको संविधानले मौलिक हक तथा सामाजिक न्याय, बालिग मताधिकार, स्वतन्त्र न्याय प्रणाली तथा सामाजिक समावेशीकरणका माध्यमबाट नागरिकलाई एकताको सूत्रमा आबद्ध गराएको बताउनुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, “हाम्रो संसद्ले राज्यव्यवस्था र शासन प्रणालीमा नै परिवर्तन ल्याएको छ, अर्कोतर्फ नागरिकका मुद्दामा सरकारलाई जवाफदेही बनाउँदै संसदीय गतिविधि गर्दै आएको छ ।”

उहाँले संसद् मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था भएको र नागरिकको सर्वभौमसत्ताको प्रयोग गर्ने मूल थलो भएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “संसद्मा जनताका प्रतिनिधि निश्चित अवधिका लागि चुनिने गर्दछन्, हरेक मुलुकले आफ्नो अनुभवका आधारमा आफ्नै मौलिक संसदीय शासन प्रणाली विकास गरेका छन्, एकअर्काका अभ्यास र सिकाइले संसदीय व्यवस्थालाई प्रभावकारी र बलियो बनाउन मद्दत पुग्ने विश्वास लिएको छु ।”

संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तलाई कायम राख्ने, राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्ने, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने उद्देश्यले स्थापित नामको सान्दर्भिकता विश्वशान्तिविरुद्ध हुने गतिविधि, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाका कारण अझै वृद्धि भएको सभामुख घिमिरेको भनाइ थियो ।

विश्वका विकासशील देशहरूले निरन्तररूपमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा असमानताको महसुस गरिरहेको र ती चुनौती रहँदासम्म नाम सदस्य राष्ट्रले शान्ति, न्याय र विकासका लागि आवाज उठाइरहने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.