मन्त्री र उच्चपदस्थ कर्मचारीको अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक

काठमाडौँ- सरकारले अबदेखि मन्त्रीहरु र उच्चपदस्थ कर्मचारीहरुलाई अति आवश्यक काम वाहेक अन्य अवस्थामा बैदेशिक भ्रमण गर्न नपाउने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रीपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रीपरिषद बैठकले सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीहरुले अब उप्रान्त आवश्यक अवस्थामा बाहेक बैदेशिक भ्रमण नगर्ने निर्णय गरेको जानकारी गराउनु भयो ।
त्यसैगरी, बैठकले पूर्व मुख्य सचिव लिलामणी पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलव आयोगको प्रतिवेदन कार्यान्वनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजिकरण समिति गठन गर्ने निर्णय गरेको छ।
यसैगरी यति एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय पनि सरकारले गरेको छ ।
सरकारले गत माघ १ मा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो । ४५ दिनको समयावधि तोकिएको आयोगको म्याद फेरी ४५ दिन थप गरिएको हो ।
बैठकले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने करिब १४ अर्ब ३१ करोड रुपैंया अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता मन्त्री शर्माले जानकारी दिनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्