कर्णालीमा गुणस्तरीय दूरसञ्चार सेवा पुर्याउन मख्यमन्त्री शर्माको आग्रह

सुर्खेत- कर्णालीका प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा दूरसञ्चार सेवाको अवस्था अझैपनि दयनिय रहेकाले सुधारका लागि सबै पक्ष जुट्न आग्रह गर्नु भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘कर्णाली प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, दूरसञ्चार सेवाको गुणस्तर विषयमा सेवाप्रदायक र सरोकारवाला वीच भएको अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै मुख्यमन्त्री शर्माले कर्णालीमा दूरसञ्चार सेवालाई व्यवस्थित र गुणस्तरीय बनाउन सम्बन्धित पक्षसँग प्रदेश सरकार हातेमालो गर्न तयार रहेको जिकिर गर्नु भयो ।
उहाँले कर्णाली प्रदेशमा गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच आम नागरिकसम्म पुर्याउन गरिएका प्रयासहरु तोकिएकै समयमा पुरा नहुँदा सरकारप्रति नै नकारात्मक असर पुगेकाले सम्बन्धित पक्ष जिम्मेवार बन्न आग्रह गर्नु भयो ।
विभिन्न सेवा प्रदायकले निर्माण गरेका संरचनाहरु प्रभावकारी नहुँदा प्रतिकुल मौसमताका कर्णालीको दुरसञ्चार सेवा अस्तव्यस्त हुने गरेको बताउँदै उहाँले सुधारका लागि तत्काल पहल गरिदिन आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले कर्णाली प्रदेशमा गरिवीको रेखामुनि रहने नागरिकको संख्या उच्च रहेकोले तोकिएका स्थानका लागि सहुलियतपूर्ण दूरसञ्चार सेवा पु¥याउन आग्रह गर्नु भयो ।
यता नेपाल दूरसञ्चार प्राधिकरणका बोर्ड सदस्य रविन्द्र झाले सेवा प्रदायक नेपाल टेलिकम एवं एनसेललाई तत्काल कर्णाली प्रदेशभरी दूरसञ्चार सेवालाई व्यवस्थित र भरपर्दो बनाउन देखिने गरि काम गर्न निर्देशन दिनु भयो ।
कार्यक्रममा कर्णाली प्रदेश सरकार मन्त्री तथा सचिवहरु, स्थानीय तहका जनप्रतिनिधि, उपभोक्ताकर्मी, टेलिकम र एनसेल, वल्र्डलिङ्कलगायतका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।






प्रतिक्रिया राख्नुहोस्