उपनिर्वाचनः एमालेबाट चितवन १ मा न्यौपाने र तनहुँ २ मा खनाल सिफारिस

काठमाडौं- नेकपा एमालेले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा रामप्रसाद न्यौपाने र तनहुँ क्षेत्र नम्बर १ मा सर्बेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले न्यौपाने र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बारा क्षेत्र २ को उपनिर्वाचनका लागि भने भोलि मात्र उम्मेदवार तय गर्ने जनाइएको छ ।

पार्टीको सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटीको सिफारिसमा दुवैलाई उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरिएको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

त्यसैगरी एमाले सचिवालय बैठकले मिटर ब्याज पीडितहरूको समस्या समाधानका लागि सार्थक पहल गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । मिटरब्याज असुल गर्ने कामलाई अपराध ठहर गरी कानुनी व्यवस्था गर्न र त्यस्ता अपराध कर्ममा लागेकाहरूलाई तत्काल कानुनी कारबाही गर्न पनि बैठकले सरकारसँग माग गरेको छ ।

बैठकले अप्रिल २२ नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसबाट लागू हुनेगरी पार्टीको वार्षिक कार्यक्रम बनाउने निर्णय पनि गरेको छ । त्यसका लागि आवश्यक सुझाव दिन पार्टीका सचिवालय सदस्य र स्थायी कमिटीका सदस्यहरूलाई बैठकले निर्देशन दिएको छ । सो दिन नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५औँ वर्ष प्रवेश हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.