रोल्पालीको मनमा बस्दै डा. पुजा

रोल्पा- रोल्पा अस्पताल, कोठा नं. १२ अर्थात दाँतको उपचार गर्ने ठाउँ । जहाँ भेटिनुहुन्छ डेन्टल सर्जन डा. पुजा कुँवर ।
रोल्पालीको दाँतको उपचार गर्नु डा. पुजाको दैनिकी नै बनेको छ । विगत दुई वर्षदेखि यहाँ कार्यरत डा. पुजाले हालसम्म हजारौं रोल्पालीको दाँतको उपचार गरिसक्नु भएको छ ।
केहिवर्ष अघिसम्म दाँतको उपचार गर्न बाहिर जानुपर्ने रोल्पालीहरुको बाध्यता नै थियो । तर अहिले रोल्पा अस्पतालमै प्रभावकारी दाँतको उपचार हुन थालेपछि सेवा लिनेहरुको संख्या पनि बढ्दै गएको छ ।
पछिल्लो समय रोल्पा अस्पतालमा दैनिक २०-२५ जना दाँतको उपचारका लागि आउने गरेका छन् । दाँत भर्ने, फाल्ने, गिजा सम्बन्धी समस्या लिएर आउने सेवाग्राहीहरु उपचारपछि हर्षित हुने गरेको डा. पुजाको अनुभव छ । ‘जिल्लामै दाँतको उपचार पाउँदा सेवाग्राहीहरु खुसी हुनुहुन्छ’ डा. पुजाले भन्नुभयो ‘वर्षाैदेखि दाँतको समस्याले पीडितहरु उपचारपछि खुसी भएर जानुहुन्छ ।’
कतिपयले राम्रो सेवा पाएपछि दाँतको नियमित उपचार गर्ने गरेका छन् । दाँतको प्रभावकारी उपचार पाउँदा हर्षित भएको रोल्पा नपा–२ की सुभा डाँगीले बताउनुभयो । धेरै पटक दाँतको उपचार गरेको र आफू अन्तुष्ट भएको डाँगीको भनाई छ ।
दुर्गम गाउँ र विद्यालयमा पनि डा. पुजा
धेरैजसो डाक्टरहरु अस्पताल छोड्न मान्दैनन् । उनीहरु आफ्नो ड्यूटी अस्पतालमै मात्र भएकोले यति गरे भइहाल्छ भन्ने ठान्छन् । तर डा. पुजा खाली समयमा जिल्लाको दुर्गम गाउँ र विद्यालयहरुमा गएर दाँतको निःशुल्क उपचार गर्न रुचाउनुहुन्छ । हालसम्म जिल्लाका दुर्गम गाउँ र विद्यालयहरुमा गरी ६ ठाउँमा पुगेर दाँतको निशुल्क उपचार सेवा प्रबाह गरेको उहाँको भनुभव छ । अझैपनि जिल्लाका धेरै दुर्गम ठाउँहरुमा गएर दाँतका रोगीहरुको सेवा गर्ने उहाँको इच्छा रहेको छ ।
सत्प्रयासको साथ
गाउँ–गाउँमा पुग्न र विद्यालयमा पुगेर निःशुल्क उपचार गर्न डा. पुजालाई जिल्लाको सत्प्रयास समूले पनि साथ दिएको छ । जिल्लाका स्वास्थ्यकर्मी, पत्रकारहरुको समूहले खालेको स्वयम्सेवी समूह सत्प्रयासले जिल्लाका दुर्गम गाउँ र विद्यालयहरुमा दाँतको उपचार र सचेतना सम्बन्धि कार्यक्रममा डा. पुजालाई लैजनो गरेको छ । विभिन्न सचेतनामूलक कार्यक्रम गर्नेक्रममा पछिल्लो समय विद्यालयमा रहेका ८ देखि १० वर्षसम्मका बालबालिकाहरुले दाँत फाल्ने गरेका छन् कि छैनन् भन्ने बारेमा सत्प्रयासले गरेको अभियान प्रभावकारी बनेको छ । ‘हामीले अन्य धेरै कार्यक्रम पनि गर्ने गरेका छौं त्यसमा थुप्रै डाक्टर, इञ्जिनियरहरुसँग सहकार्य हुन्छ’ सत्प्रयास समूहका सदस्य तथा पत्रकार खेम बुढाले भन्नुभयो ‘तर अरुभन्दा पनि डा. पुजाले यो अभियानमा मनैदेखि साथ दिएर लाग्नुभएको छ ।’ आगामी दिनमा पनि डा. पुजालाई जिल्लाको धेरै दुर्गम गाउँ तथा विद्यालयहरु पु¥याउने सत्प्रयासको योजना रहेको पनि उहाँले बताउनुभयो ।
दाँत उपचारलाई थप प्रभावकारी बनाइँदै
रोल्पा अस्पतालमा यसअघि पनि डेन्टल सर्जन आउनु गरेको भएपनि उनीहरुले सेवानै सुरु नगरी सरुवा हुने गरेका थिए । पछिल्लो समय २०७५ मा डा. दिपक माकाजुले सुरु गरेको दाँतको उपचार सेवा हाल प्रभावकारी बन्दै गएको हो । अहिले रोल्पा अस्पतालमा डेन्टल सर्जन डा. पुजासँगै एक जना डेन्टल हाइजनिष्ट र एक जना अहेवले दाँतको सेवा दिदै आउनुभएको छ । दाँत उपचार सेवालाई थप विस्तार गर्ने योजना रहेको डा. पुजाको भनाई छ । ‘आगामी दिनमा नक्कली दात राख्ने, क्राउन राख्ने लगायतका थप उपचार सेवा बढाउने योजना छ’ उहाँले भन्नुभयो ‘त्यसका लागि हामीले पहल गरिरहेका छौं ।’ दाँत उपचारका लागि स्वास्थ्य विमा गरेका र विपन्नहरुको निःशुल्क सेवा समेत दिइरहेको अस्पतालले जनाएको छ ।।
प्रतिक्रिया राख्नुहोस्