सुरक्षाकर्मीले गर्ने व्यवहारबाट नागरिकको सरकारप्रतिको धारणा निर्माण हुन्छ- गृहमन्त्री

काठमाडौं- गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा शान्ति–सुरक्षा स्थापना गर्न, नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्न, महिला बालबालिका, ज्येष्ठ नागरिकको पूर्ण सुरक्षा प्रत्याभूति गर्ने क्रममा तथा आमनागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराउन ऐन–कानुनले निर्दिष्ट गरेका जिम्मेवारीहरुलाई पूर्ण पालना गरी कानुनी राज्यको प्रत्याभूति दिन नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ  ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले प्रहरीको बर्दी र काँधको फुलीमा सर्वसाधारणको भरोसा र विश्वास लुकेको छ भन्नुहुँदै सरकारको प्रतिनिधिको रुपमा सर्वप्रथम जनतामाझ पुग्ने नै प्रहरी भएको र सरकारको प्रतिनिधिको रुपमा नागरिकसँग प्रथम सम्पर्क हुने हुँदा कार्यस्थलमा सुरक्षाकर्मीले गर्ने व्यवहारबाट नागरिकको सरकारप्रतिको धारणा निर्माण हुने उल्लेख गर्नुभयो ।

आज नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्नुहुँदै गृहमन्त्री श्रेष्ठले यस्तो धारणा राख्नुभएको हो ।

गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘तपाईहरुले शरीरमा लगाएको बर्दी र काँधमा लगाएको फुलीमा सर्वसाधरणको भरोसा र विश्वास लुकेको छ । स्वच्छ, निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत नागरिकको भरोसा र विश्वासलाई कायम राख्न अझ मेहनत गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’’

यसैगरी, तस्करी र राजश्व चुहावट नियन्त्रणमा नेपाल प्रहरीको भूमिका स्मरणीय र उल्लेखनीय रहेको बताउँदै उहाँले यसको गुणात्मक वृद्धिका लागि दृढ भई कारबाही गर्न समेत निर्देशन दिनुभयो ।

उहाँले सीमित स्रोत साधन, न्यून जनशक्ति र अपर्याप्त भौतिक पूर्वाधारका बावजुद पनि नेपाल प्रहरीले शान्ति सुरक्षा, अपराध नियन्त्रण, महामारी नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, खोज उद्धार तथा राहत लगायतका प्रतिकार्यमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्नुहुँदै विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि सदैव तयारी अवस्थामा रहन आवश्यक रहेको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.