एउटै भावका दुई चलचित्र

काठमाडौं- बिदालाई लक्षित गर्दै प्रदर्शन तय गरिने चलचित्रको सङ्ख्या बढिरहेको छ । गत फागुन १९ मा दुई चलचित्र ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शन भएका थिए ।

आउँदो वर्ष विसं २०८० वैशाख १ गते एकसाथ चार चलचित्र प्रदर्शन हुँदैछन् । तीमध्ये जारी र बुलाकी विषयवस्तुका कारण चर्चामा छन् । मौलिक विषयवस्तु उठान गरिएको दुवै चलचित्र जारी प्रथासँग सम्बन्धित छ । इन्टरनेटमा उपलब्ध दुवै चलचित्रको ट्रेलरले उस्तै कथा भनेको छ । किनकि दुवै चलचित्रमा पुरानो श्रीमान्‌लाई दिइने क्षतिपूर्तिको विषयलाई देखाइएको छ ।

कवि-कथाकार उपेन्द्र सुब्बा ‘जारी’ मार्फत निर्देशक बन्दै हुनुहुन्छ । ‘कब्बडी’ का शृङ्खलामार्फत लेखनमा सक्रिय सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि तयार गर्नुभएको हो ।

लिम्बू समुदायका महिलाको विद्रोह देखाइएको ‘जारी’ को सुरूआत उपन्यासबाट भएको थियो । “म चलचित्र लेखन सक्छु तर नाटक सक्दिन । किनकि म भित्र त्यो धैर्य नै छैन”, निर्देशक सुब्बाले भन्नुभयो । उहाँले लेखिएको उपन्यासलाई साथीहरूसँगको सल्लाह पश्चात चलचित्रको पटकथामा रूपान्तरण गर्नुभएको हो ।

“हाम्रो प्रचलन नयाँ पुस्तासम्म पुर्‍याउनुपर्छ भनेर विषयवस्तु छनौट गरेको हुँ । महिलाहरू आँटिला र सहासिला हुन्छन् । स्वाभिमानी छन् र आत्मसम्मान चाहन्छन्, श्रीमती भएँ भन्दैमा सम्मान बिना बस्दैनन्”, निर्देशक सुब्बाले भन्नुभयो । उहाँले महिलालाई आफ्नो जीवनसाथी छनोट गर्ने÷आत्मनिर्णयको सुविधा लिम्बूवानमा रहेको अर्थ दोस्रो बिहे गर्छन् भन्ने नरहेको बताउनुभयो ।

यो कथा लिम्बू समुदायमा बिहेमा पतिले वचनका साथ सिक्का (युप्पारुङ) दिइने चलनमा आधारित छ । त्यो युप्पारुङमा चेलीको आत्मनिर्णयको अधिकार समाहित हुन्छ । निर्देशक सुब्बाले चलचित्रको योजना नै युप्पारुङमार्फत सिर्जित भएको बताउनुभयो ।

“कथा त जारीकै हो । तर हामीले युप्पारुङको महत्त्वबाट देखाएका छौँ । जारी राख्दा सजिलै बुझ्ने भएकाले नाम त्यो राखिएको हो”, निर्देशक सुब्बाले भन्नुभयो ।

वैशाख १ मै प्रदर्शन हुने घोषणा गरिएको चलचित्र ‘बुलाकी’ को कथा पनि यस्तै छ । सार्वजनिक गरिएको प्रचारप्रसार सामग्रीमा श्रीमान् छाडेर गएपछि जारी उठाउने कथा देखाइएको छ । यसको कथा निर्देशक राजबहादुर सानेले लेख्नुभएको हो ।

म्युजिक भिडियो निर्देशन गरिरहेका लक्ष्मण सुनारको यो पहिलो निर्देशकीय चलचित्र हो । “एक दशक अगाडिसम्म पनि कर्णालीमा जारीको चलन थियो । यसलाई मैले कर्णालीमा देखेर नै हुर्किएको हुँ । त्यसैलाई पर्दामा देखाउनुपर्छ भनेर बनाएको हुँ”, निर्देशक सुनारले भन्नुभयो, “ट्रेलर हेर्दा उस्तै लाग्न सक्छ ।

हामीले पश्चिमको कथा भनेका छौँ र उहाँहरूले पूर्वको कथा भन्नुभएको छ । यो साझा विषयवस्तु भएकाले उठान एकै पटक भएको हुनसक्छ । तर हाम्रो चलचित्र मिल्दैन । सायद यो कथा भन्नुपर्छ भन्ने लागेको हुनसक्छ ।” उहाँले कर्णालीको महिलाले अहिले पनि स्वतन्त्ररूपमा आफ्ना कुरा भन्न नसकेको देख्नुभएको छ ।

निर्देशक सुनारले बुलाकीलाई कर्णालीको महिलाको आवाजका रूपमा बुझ्न आग्रह गर्नुभयो । “कर्णालीमा महिलाहरू अझै आफूसँग भएको हिंसाबारे बोल्न सक्दैनन् । प्रमुख पात्रले कर्णालीका महिलाको प्रतिनिधित्व गर्छ ।

मनोवैज्ञानिक ढङ्गले गर्ने विद्रोहलाई चलचित्रमा देखाएका छौँ”, निर्देशक सुनारले भन्नुभयो । उहाँले आगामी चलचित्रहरूमा समेत कर्णालीकै कथालाई आवाज दिन चाहेको योजना सुनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.