एक सय अठार किलो चरेशसहित तीनजना पक्राउ

मकवानपुर र चितवनमा उत्पादन भएका लागुऔषध भारततर्फ तस्करी हुने गरेको प्रहरीको भनाइ

पर्सा- मकवानपुर र चितवन जिल्लामा उत्पादन भएका प्रतिबन्धित लागुऔषध गाँजा तथा चरेश पर्साको बाटो भई भारततर्फ तस्करी भइरहेको प्रहरीले जनाएको छ ।

छिमेकी दुवै जिल्लाको पहाडी भेगमा उत्पादन भएका लागुऔषध भारियाको सहयोगले जंगलको बाटो गरेर पर्सा जिल्लामा भित्र्याउने र खुल्ला सिमानाको फाइदा उठाउँदै रातीको समयमा कारोवारीहरु उक्त लागुऔषध भारततर्फ लैजाने गरेको पर्सा प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले दिएको जानकारी अनुसार मकवानपुर र चितवनमा उत्पादन भएका लागुऔषध पर्सा हुँदै भारततर्फ तस्करी भइरहेको छ ।

उहाँले पर्सा जिल्लाको विभिन्न स्थानबाट बरामद भएका लागुऔषध मकवानपुर र चितवनबाट भित्र्याएको अनुसन्धानबाट खुलेको बताउनुभयो । लागु औषधसहित पक्राउ परेकाहरुमध्ये अधिकांश मकवानपुर र चितवन जिल्लाकै रहेको सुचना अधिकारी गिरीले जानकारी दिनुभयो ।

यसै क्रममा प्रहरीले आइतबार साँझ पर्साको पटेर्वा सुगौली गाँउपालिकाबाट १ सय १८ किलोग्राम चरेश र चार किलो ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

गाँउपालिकाको वडा नं. ५ देउरीया निवासी प्रदेश राउतको घरबाट उक्त परिमाणमा रहेको लागुऔषध बरामद भएपछि आवश्यक अनुसन्धानका लागि मकवानपूरको रक्सीराङ गाँउपालिका-८ निवासी रमेश मोक्तान, मनहरी गाँउपालिका ६ निवासी रोशन मोक्तान र घरधनी प्रदेशी राउतलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।

उहाँले मकवानपुर र चितवन जिल्लामा उत्पादन भएका लागुऔषध पर्साको बाटोभाई भारत तर्फ लैजाने तयारी गरिरहेकै अवस्थामा मोक्तानद्वय र राउतलाई पक्राउ गरिएको बताउनुभयो ।

प्रहरीले छापा मार्दा राउतको घरबाट लागुऔषध बनाउन प्रयोग हुने विभिन्न उपकरणसमेत बरामद भएको छ । पक्राउ परेका तीनैजना अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.