महायज्ञमा सहभागी हुन दलितलाई रोक लगाइएको दलित अगुवा नेताहरुको आरोप

पर्सा- वीरगन्ज महानगरपालिकाको वडा नं १८ सुखचैनामा जाती विभेद भइरहँदा पनि स्थानिय प्रशासन मुकदर्शक बनेको दलित अगुवा नेताहरुले आरोप लगाएका छन् ।

सुखचैनामा हुन गइरहेको विष्णु महायज्ञमा सहभागी भए ज्यानले मार्ने धम्की उच्च जातीका व्यत्तिले दिएको लिखित जानकारी पर्सा प्रहरीलाई गराउँदा समेत कुनै कार्यवाही नगरेको दलित नेताहरुको भनाई रहेको छ ।

यही बैशाख १२ गतेदेखि २१ गतेसम्म हुने विष्णु महायज्ञका लागि दलितबाट चन्दा संकलन भएपनि महायज्ञको वेदीमा बस्न नदिने उच्चजातीका व्यक्तिहरुले भनी विभेद गरेको विषयमा गत चैत्र २६ गते प्रहरीलाई निवेदन दिएको भएपनि कुनै कार्यवाही नभएको नेपाल चमार कल्याण संघ मधेस प्रदेशका महासचिव सुनिल रामले बताउनु भयो ।

नेपाल पत्रकार महासंघको सभा कक्षमा आज दलित संर्घष समितिले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सुनिलले सुखचैनाका दलित अगुवाहरुले दिएको निवेदनमाथि छलफल गर्न प्रहरीले दुवै पक्षलाई बोलाउँदा कुटपिट भइ घाइत भए मात्र आफुहरुले कार्यवाही गर्ने जस्तो गैर जिम्मेवार जवाफ प्रहरी नायब उपरिक्षक दिपक गिरीले दिएको आरोप लगाउनु भयो ।

यसै विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी समेत रहेका नायब उपरिक्षक गिरीसँग बुझ्दा उहाँले महायज्ञको वेदिमा बस्ने विषयलाई लिएर उजुरी आएको र सोमाथि दुवै पक्षलाई बसाई छलफल मार्फत पूजामा सबै पक्षलाई सहभागि गराउने सहमती गराएर पठाएको बताउनुभयो ।

पूजामा सबै पक्ष सहभागी हुने सहमति भएपछि वेदीमा बस्ने विषयमा थोरै विवाद रहेको जानकारी दिंदै उहाँले जातीय विभेद भएको रितपूर्वको निवेदन सम्बन्धित पक्षले प्रहरीमा दर्ता गराए कानुन बमोजिम कार्यवाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

संघर्ष समितिका अध्यक्ष खिरोधन रामको अध्यक्षतामा भएको पत्रकार सम्मेलनलाई दलित नेता रामअसरे राम, प्रह्लाद महतो लगायतले सम्बोधन गर्दै जातीय विभेद गर्नेलाई दण्ड र सजायको प्रावधान संविधानले नै गरेपनि गाँउ घरमा रहेका केही उच्चा जाती भनाउँदाहरु अहिलेपनि दलितलाई प्रताडित गरेको र त्यसलाई प्रहरीले कार्यवाही गर्नुपर्नेमा संरक्षण प्रदान गरेका आरोप लगाउनुभयो ।

सुखचैनामा ४० घर दलित परिवारको बसोवास रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.