सिरहाको मिर्चैयामा स्थानीय र प्रहरीबीच झडप, केही घाइते

सिरहा- मिर्चैया नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप हुँदा आज सिरहाको मिर्चैया गुदरी बजार तनावग्रस्त बनेको छ ।
आफुलाई बस्न र व्यापार गर्न तत्काल व्यवस्था गरिनुपर्ने, घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, जग्गाको लालपुर्जा दिइनुपर्ने, छानबिन गरी न्याय दिइनुपर्नेलगायत माग गर्दै मिर्चैया गुदरी बजार हुदै स्थानीय व्यापारीहरूको जुलुस १२बजे नगरपालिका कार्यालय पुगेको थियो ।
प्रदर्शनकारीहरुले आफूहरूले उठाएका विषयको जवाफ मेयर श्रवणकुमार यादवले दिनुपर्ने माग गरी नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका थिए । तर, मेयर यादव बाहिर नआएपछि प्रदर्शनकारी नगरपालिकाभित्र प्रवेश गर्न खोजेका थिए ।
प्रहरीले रोकेपछि स्थानीयले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि झडप भएको थियो ।
तनावग्रस्त भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २७ राउन्ड हवाईफायर, ११ सेल अश्रुग्यास प्रहार गरेको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेका अनुसार झडपका क्रममा पाँच प्रहरी घाइते छन ।
प्रदर्शनकारीको ढुंगा प्रहारबाट मेयर श्रवण यादव चढ्ने गाडीको सीसासमेत फुटेको छ ।
प्रदर्शनका क्रममा प्रहरीको कुटाइबाट संगीता कुमारी साह घाइते भएकी छिन। घाइते संगीताको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा उपचार भइरहेको छ दिनेशकुमार यादव टाउकोमा चोट लागेको छ । यादवको स्थानीय मंगलम् अस्पतालमा उपचार भइरहेको छ ।
मिर्चैया बजार तनावग्रस्त रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्