हिमालयन अन्तराष्ट्रिय एक्स्पो आजदेखि भृकुटीमण्डपमा शुरु

काठमाडौँ- नेपाली स्थानीय उत्पादनको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले हिमालयन अन्तर्राष्ट्रिय एक्स्पो काठमाडौंमा आजदेखि शुरु भएको छ ।

नेपालमा पहिलोपटक आयोजना गरिएको अन्तर्राष्ट्रिय घरेलु महोत्वसको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री किराँतीले अर्थतन्त्रको जग नै स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनु रहेको बताउनु भयो ।

अहिलेको युगको सबैभन्दा ठूलो शत्रु भनेकै गरिबी र अशिक्षा रहेको बताउँदै गरिबी हटाउन बजारीकरणमा जोड दिनुपर्ने मन्त्री किराँतीको भनाइ थियो ।

कार्यक्रममा हिमालयन अन्तर्राष्ट्रिय एक्स्पोका अध्यक्ष कपिल अधिकारीले स्वदेशी तथा विदेशी क्रेतालाई नेपाली उत्पादनप्रति आकर्षित गराउन, नेपालको हस्तकला र स्थानीय उत्पादनलाई विश्व बजारमा चिनाउन, नेपाली उद्योगी–व्यवसायीको मनोबल बढाउन र निर्यात प्रवद्र्धन तथा अर्थतन्त्र सुधारका पक्षमा योगदान पुर्‍याउन महोत्सवका रूपमा प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो ।

एक लाखभन्दा बढी आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरिएको तीनदिने सो प्रदर्शनीमा एक सय भन्दा बढी व्यापारिक कक्ष रहेका छन।

पश्मिना, गलैँचा, कार्पेट, काष्ट एवं मूर्तिकला, गरगहना, जडिबुटी, सजावट तथा पर्यटन उद्योगसँग सम्बन्धित सामग्री प्रदर्शनीमा राखिएका छन ।

अध्यक्ष अधिकारीका अनुसार कोभिडपछि नेपालमा हुन लागेको नेपाली सामानहरुको अन्तराष्ट्रिय प्रदर्शनी यो पहिलो हो ।

यहाँ अमेरिका, युरोप र दक्षिण एशियाका भारत, बंगलादेश लगायतबाट नेपालमा उत्पादित बस्तुहरुको खरिद गर्न व्यपारीहरु आउने  पनि अध्यक्ष अधिकारीले बताउनुभयो । अध्यक्ष अधिकारीले आफूले लामो समय अमेरिकामा वसेर प्राप्त गरेको अनुभव र ज्ञानलाई नेपाली सामान निर्यात र प्रवर्द्धनमा उपयोग गर्न यो प्रदर्शनीको आयोजना गरिएको भएपनि सरकारी तथा गैरसरकारी दुबै निकायले सोचेजस्तो सहयोग नगरेको गुनासो गर्नुभयो ।

मेलामा नेपाल, भारत, अमेरिका लगायत विश्वका विभिन्न देशका उत्पादनहरु प्रदर्शनी तथा विक्रीका लागि राखिएका एक्स्पो आयोजक समितिका सदस्य रवि भट्टले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.