रास्वपाका सभापति लामिछानेलाई सोधियो स्पष्टीकरण
चितवन- हिजो सम्पन्न मतदानका क्रममा निर्वाचन आचार संहिता उल्लङ्घन गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन- २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
नेपाली काँग्रेस चितवनले लामिछानेसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका विरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएपछि कार्यालयले लामिछानेलाई स्पष्टीकरण सोधेको हो ।
निर्वाचन भरहेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदान स्थलमा हूल हुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले लामिछानेलाई नै सहयोग गरेको भन्दै काँग्रेसले उजुरी दिएको थियो ।
नेपाली काँग्रेसका निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले दिनुभएको उजुरीमा निर्वाचन ऐन, निर्देशिका, कार्यविधि र निर्देशन बमोजिम दोषी उपर कारबाहीको माग गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल भने एउटा उम्मेदवारलाई मात्रै समर्थन गरेको भन्ने आरोप गलत भएको बताउनुभयो ।
यस अघि भरतपुर ११ को नयाँ किरण माध्यमिक विद्यालयमा भएको विवाद रास्वपाले आचार संहिता विपरीत काम गरेको भन्दै गल्ती स्वीकारेपछि मतदान सुचारु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्