बारा–२ उपनिर्वाचनः जसपा अध्यक्ष यादवलाई पाँच हजार मतको अग्रता
बारा- बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाउनुभएको छ ।
६९ हजार १ सय ७ मत गणना हुँदा जसपाका अध्यक्ष यादवले १८ हजार ९६ मतका साथ अग्रता लिइरहनु भएको छ । जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार ८३ मत ल्याएर उहाँलाई पछ्याइरहनुभएको छ । यस्तै नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले ५ हजार ४ सय ५९ मतसहित तेस्रो स्थानमा रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार १ सय ६३ मत प्राप्त गर्नभएको छ ।
मतगणना भइरहेको जिल्ला सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो ।
कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मतदान भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्