बारा- २ मा २९ हजार मत गन्न बाँकी रहँदा यादव र कुशवाहाको मतान्तर २६ सयमा झर्यो

बारा- बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना परिमाणअनुसार जनमत पार्टीका शिवचन्द्र कुशवाहाले समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँगको मतान्तरलाई साँघुर्याउँदै लैजानु भएको छ ।
पछिल्लो मतगणना विवरण अनुसार जसपाका अध्यक्ष यादवले २० हजार ४६३ मतका साथ अग्रता लिइरहनु भएको छ । जनमत पार्टीका कुशवाहाले १७ हजार ७९८ मत ल्याएर उहाँलाई पछ्याइरहनुभएको छ ।
यसअघि पाँच, चार र तीन हजार हुँदै कुशवाहले यादवसँगको मतान्तर २६ सय ६५ मा झार्नुभएको हो । उक्त क्षेत्रमा अब २९ हजार मत गणना गर्न बाँकी छ।
यस्तै नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले ६ हजार १ सय २१ मतसहित तेस्रो स्थानमा रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ४ सय ६६ मत प्राप्त गर्नभएको छ ।
कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६९ हजार १ सय ७ मतदान भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्